संसदलाई ‘बिजनेश’ दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। माघ २२ गतेबाट प्रारम्भ हुने संसदलाई ‘बिजनेश’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएका छन्। 

मंगलबार दिउँसो प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरू बोलाएर अघिल्लो संसद अधिवेशनले कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेको भन्दै संसदलाई बिजनेश दिन र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका हुन्।

मन्त्रालयलाई निर्देशित गर्दै प्रधानमन्त्रीले भने, “अघिल्लो वर्ष संसदले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ । सरकारले पनि ‘बिजनेश’ दिएन भन्ने मत पनि छ। तर, यसपटक त्यस्तो नहोस्।” उनले आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीबारे पनि छलफल गरेका छन्।

उनले भने, “संसद सुरू हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरि तयारी गरौँ। मुख्यसचिवले फलोअप गर्नुहोला। मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला। राम्रो तयारी गर्नुहोला। यसपटक संसदलाई व्यवसि्थत रूपले बिजनेश दिनुपर्छ। त्यो गुनासो नआउने गरी काम गर्नुहोला।”

छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद पठाउनुपर्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशित गरेरेका छन्। बैठकमा मन्त्रालयका सचिव उदयराज सापकोटाले आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूका निमि्त मन्त्रालयले आवश्यक गृहकार्य गरेको बताउँदै यस अधिवेशन प्रारम्भ हुनेबिति्तकै केही ‘बिलहरू’पेश गर्न सकिने गरी तयारी गरिएको बताए। 

सचिव सापकोटाले केही विधेयकहरू संसद अधिवेशन प्रारम्भ भएलगत्तै संसदमा दर्ता गर्न सकिने भन्दै थप विधेयकका काम पनि गरिने जानकारी दिए।(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया