नेपाल चिनाउन अष्ट्रेलियामा ‘चित्रा’को रेडकार्पेट प्रिमियर

काठमाडौँ। गत पौष २७ गते नेपालमा रिलिज भएको फिल्म ‘चित्रा’को अष्ट्रेलियामा रेडकार्पेट प्रिमियर हुने भएको छ।

बाबुछोरीको पारिवारिक कथा बोकेको फिल्म आगामी फेब्रुअरी ९ मा अष्ट्रेलियाको तासमानिया राज्यको भिलेज सिनेमाज इस्टल्यान्डस, रोसनी पार्कमा प्रिमियर हुन लागेको हो।

फिल्मका निर्माता तथा अभिनेता सन्तोष अधिकारीका अनुसार अष्ट्रेलिया प्रिमियरमा सो शहरका मेयरसहित केही कलाकारहरु सहभागी हुनेछन्।

प्रिमियरको टिकटदर ३० अष्ट्रेलियन डलर तोकिएको छ। तास्मानियामा नेपालीसहित नेपाली भाषी भुटानीको उल्लेख्य बसोबास छ।

घनश्याम लामिछाने निर्देशित फिल्ममा सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय छ।

महेश पौडेलको छायांकन रहेको फिल्ममा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ। फिल्मका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन्। फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन्।  फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया