गोर्खा वारियर फागुन ११ गतेबाट नेपालमा

काठमाडौँ। सन् १९४९ का बेला मलाया युद्धको क्रममा नेपालीहरुले लडेको कथालाई प्रस्तुत गरिएको फिल्म ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक भएको छ।

राजधानीमा बिहीबार एक कार्यक्रमबिच २ मिनेट २२ सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो। यो फिल्म आगामी फागुन ११ गतेबाट नेपालमा रिलिज हुँदैछ।

ट्रेलरमा तत्कालिन समयमा मलाया युद्धको पृष्ठभूमि र सो युद्धमा गोर्खाली सैनिकहरुले गरेको संघर्षलाई प्राथमिकता दिइएको छ। ट्रेलरमा फिल्मका प्रमुख कलाकार रितेश चाम्स, विजय लामा, कविता आले, रेविका गुरुङलगायतका कलाकार फिचर्ड छन्।

ट्रेलरमा सन् १९४९ को समयको नेपालको ग्रामीण परिवेश, त्यसबेलाको प्रेम र गोर्खा भर्तीमा जाने परम्परालाई देखाइएको छ। फिल्मका लेखक तथा निर्देशक मिलन चाम्सले आफूले गोर्खा वारियर बनाउन तीनवर्ष अध्ययन गरेको बताए।

“म आफू पनि पूर्वगोर्खा सैनिक भएकाले गोर्खा सैनिकलाई नजिकबाट चिनेको र बुझेको छु”, मिलनले भने, “मैंले आफूले भोगेको र देखेको सँगै अध्ययन तथा अनुसन्धानबाट प्राप्त नयाँ तथ्यलाई फिल्ममा प्रस्तुत गरेको छु।”

फिल्म नेपालीसँगै हिन्दी, अङ्ग्रेजी र कोरियन भाषामा रिलिज हुँदैछ। फिल्मको हाल हिन्दी संस्करणका लागि मुम्बईमा स्वरांकनको काम भइरहेको छ। हिन्दी भर्सनमा फिल्मका मुख्य कलाकार रितेशको हिन्दी स्वरांकनको काम दक्षिण भारतीय फिल्म केजीएफका लागि अभिनेता यशको हिन्दी संस्करणको स्वरांकन गरिसकेका डबिङ आर्टिस्ट सचिन गोलेले गरिरहेका छन्।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा सारा राई, शिशिर वाङ्देल, रियर राई, सुरज तमु, विरुप घले, सरोज खालिङ, सुमिन गुरुङलगायतका कलाकारको पनि अभिनय छ। प्रिमियर गरेको थियो। यो फिल्म ‘ब्रिटिस एकेडेमी अफ फिल्मसे एण्ड टेलिभिजन आर्टस्(बाफ्टा)’ को प्रारम्भिक मनोनयनमा मनोनित भइसकेको छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया