‘मोदिबेनी’ बाट अमर प्रतापको डेब्यु, रेजिनाको कमब्याक

काठमाडौँ। छांयाकन जान लागेको चलचित्र ‘मोदिबेनी’ को कलाकारको लाइनअप पूर्ण भएको छ। हाल कार्यशालामा रहेको चलचित्रबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन्। ओजस थियटरमा दुईवटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रितको रित’ नामक वेब सिरिजमा प्रमुख अभिनय गरेका छन्।

यस चलचित्रबाट झण्डै ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्ने भएकी छन्। उनले पछिल्लो चलचित्र ‘वरदान’ मा ‘लिड रोल’ मा अभिनय गरेकी थिइन्।

दुई कार्यकाल कलाकार संघमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष रही कार्य गरेकी उनले यस बिचमा केही म्युजिक भिडियो, विज्ञापन तथा लघु चलचित्रमा अभिनय भने गरिरहेकी थिइन्। उप्रेतीले यस चलचित्रमा कलाकार दिलीप केसीसँग स्क्रिन शेयर गर्नेछिन्।

अभिनेता सरोज खनालले पनि चलचित्रमा प्रमुख भूमिका निभाउनेछन्। चलचित्रमा अमर, सरोज, रेजिना, केकी, दिलीपका अलावा कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिसलगायतको अभिनय रहनेछ। प्रमुख कलाकार अमरसहित अन्य केही कलाकारहरू अडिशनमार्फत् समेत छनोट गरिएको हो।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई शंकर कोइरालाले निर्देशन गर्दैछन्। आनन्दबिक्रम क्षेत्रीले लेखेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन्। करिब पैंतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको कथा भन्नेछ। चलचित्र माघ १६ गतेदेखि छायाकंनमा जानेछ।

चलचित्रमा उत्सव दाहालको डिओपी, दिपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गिता पौडेलको हेयर डिजाइन, भिम श्रेष्ठको ड्रेज डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया