धनुष अभिनित क्याप्टेन मिलरमाथि कथा चोरीको आरोप

मुम्बई। अभिनेता धनुषा अभिनित प्रदर्शनरत फिल्म ‘क्याप्टेन मिलर’ माथि कथा चोरीको आरोप लागेको छ। अरुण माथेश्वरन निर्देशित यो फिल्ममाथि तमिल लेखक तथा अभिनेता वेला रामामूर्तिले कथा चोरीको आरोप लगाएका हुन्।

वेला तमिल उपन्यास र कविता लेखनमा परिचित छन्। उनले क्याप्टेन मिलर आफ्नो उपन्यास ‘पट्टथु यानै’ को कपि रहेको आरोप लगाएका छन्। उनले बिना अनुमति उपन्यासलाई आफ्नो स्वामित्वमा लिएर फिल्म बनाएको भन्दै निर्माताको आलोचना गरेका छन्।

“यो फिल्मको कथा मेरो उपन्यास ‘पट्टथु यानै’ मा आधारित छ। मलाई यो चोरीका लागि न्याय चाहिएको छ। तमिल फिल्म उद्योगमा इमान्दारी बाँचेको छैन। यो मुद्धालाई म तमिल सिनेमा डाइरेक्टर्स युनियनसम्म लिएर जानेछु। मलाई आशा छ कि फिल्ममेकर भारतीराजाले मलाई न्याय गर्नेछन्”, वेलाले भनेका छन्।

उनले आफू लोकप्रिय हुन र पैसा कमाउन यो मुद्धा नउठाएको बताए। उनले आफूले न्याय पाउनमात्र माग उठाएको जनाए। वेलाले हालसम्म रजनीकान्तको ‘अन्नात्थे’, ‘सेतुपति’ र ‘कीदारी’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन्। यसबाहेक उनले धनुषको फिल्म ‘एनाई नोक्की पायुम थोटा’ मा धनुषको पिताको भूमिका निर्वाह गरिसकेका छन्।

फिल्म ‘क्याप्टेन मिलर’ मा धनुष फरक अवतारमा देखिएका छन्। यो फिल्मको कथा भारत स्वतन्त्र हुनुअघिको हो। फिल्मले ‘क्याप्टेन मिलर’ को कथा बोल्छ। उनी पहिला ब्रिटिस आर्मीका सदस्य थिए। तर ब्रिटिसहरुबाट जोगिन उनले आफ्नो गाउँको सुरक्षा गरिरहेका छन्। किनकी ब्रिटिसहरु उनको गाउँमा लुकेर रहेको गहना लुट्न चाहन्छन्। गत १२ जनवरीबाट रिलिज यो फिल्मले घरेलु बक्सअफिसमा हालसम्म ४३ करोडको व्यापार गरेको छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया