‘जिग्री’ फागुन ४ गतेबाट हलमा

काठमाडौँ। सुस्केरा आट्र्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’ आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउने भएको छ। 

निर्माण टिमले ‘एउटा आलु जस्तो, अर्को तामा जस्तो’ ट्यागलाइन राख्दै आइतबार तीन फस्टलुक सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिएको हो।

आकाश मगरको निर्देशन रहेको फिल्म कमेडी–क्राइम–एक्सन ड्रामा जनरामा आधारित छ। फिल्ममा अभयराज बराल, आकाश मगर, सुशीलराज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारीलगायतको अभिनय छ।

“जिग्री काठमाडौंमा अनेकन महत्वकांक्षा बोकेर आएका फरक व्यवहार भएका दुई युवाको कथा हो”, निर्देशक मगरले भने, “ती युवाले महङ्गी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष फिल्ममा छ।”

निर्देशक मगरले वर्तमान समयमा आम नेपाली युवाहरूको परिश्रम अनुसारको आम्दानी नहुने अवस्था र त्यस अवस्थाले निम्त्याएका घटनाहरूलाई फिल्मले कमेडी, क्राइम र एक्सन शैलीबाट देखाइने बताए।

फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ हुन्। फिल्ममा सुमित भट्ट र सोमित माझीका छायाङ्कन, सरुन मानन्धरको सम्पादन र कलर, किशोर आचार्यका ध्वनी परिकल्पना र मिश्रण, आकी थेक्पाको प्रोडक्सन डिजाइन, सुवास पौडेल र भास्कर स्वाँरको सङ्गीत, केदार श्रेष्ठको कासि्टङ र लुज राजभण्डरीको भीएफएक्स छ। फिल्मको वितरण सुस्केरा आट्र्सले गर्नेछ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया