‘सितारे जमिन पर’ को तयारीमा आमिर खान

मुम्बई। सन् २०२२ मा रिलिज फिल्म ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अभिनेता आमिर खानले अभिनयबाट दुरी बनाएका छन्। यी अभिनेता पुनः पर्दामा फर्किउन् भन्ने उनका प्रशंसकको ठूलो चाहना छ।

अब आमिर आफ्नो नयाँ फिल्म ‘सितारे जमिन पर’ बनाउने तयारीमा छन्। यसका अलावा उनको पाइपलाइनमा अभिनेता सनी देओलका साथ फिल्म ‘लाहोर १९४७’ पनि छ।

गत वर्ष आमिरले आफ्नो फिल्म ‘सितारे जमिन पर’ बनाउने घोषणा गरेका थिए। ‘लाल सिंह चड्डा’को असफलतापछि आमिर करिब दुई वर्ष फिल्मबिहिन छन्।

छोरी आइरा खानको विवाहपछि आमिरको ध्यान आफ्नो करियरप्रति छ। उनी नयाँ फिल्मको सुरुवात आगामी महिनाबाट गर्नेछन्। उनी यही फेब्रुअरी २ बाट ‘सितारे जमिन पर’को सुटिङ सुरु गर्दैछन्। यो फिल्मका लागि आमिरले आफ्नो लुक्स पनि तयार पारेका छन्। उनी यो फिल्मका लागि करिब ७० देखि ८० दिन समय दिँदैछन्।

यो फिल्मको अधिकांश सुटिङ दिल्लीमा हुँदैछ। फिल्मका बारे अन्य विस्तृत जानकारी निर्माण पक्षले सार्वजनिक गरेको छैन। आमिर निर्देशक राजकुमार सन्तोषी र अभिनेता सनी देओलका साथ निर्माताका रुपमा फिल्म ‘लाहोर १९४७’ बनाउँदैछन्। यो फिल्मको काम पनि आगामी महिनाबाट सुरु गर्दैछन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया