डा. विशदको निलम्बन फिर्तापछि आन्दोलनरत चिकित्सकहरु काममा फर्किने

काठमाडौं। केएमसी अस्पतालले आवासीय चिकित्सक विशद दाहालमाथिको निलम्बन फिर्ता लिने भएको छ। आज बिहान भएको वार्तापछि अस्पताल निलम्बन फिर्ता लिन तयार भएको हो।

केएमसीले पीजी दोस्रो वर्षमा अध्ययनरत आवासीय चिकित्सक डा. विशदलाई अनुशासन उल्लंघन गरेको र कर्तव्य पालना नगरेको भन्दै पुस १२ गते एक महिनाका लागि निलम्बन गरेको थियो। उनको निलम्बन नियमसंगत नभएको भन्दै केएमसीमा पीजी पहिलो र दोस्रो वर्षका आवासीय चिकित्सक आन्दोलनमा थिए।

वार्ता टोलीमा अस्पताल व्यवस्थापनको तर्फबाट प्रबन्धक नारायणप्रसाद दाहाल, केपी शर्मा र लक्ष्मण अधिकारी तथा निलम्बनमा परेका चिकित्सक डा. विशद दाहाल र उनका आवासीय चिकित्सकका तर्फबाट प्रतिनिधिहरु थिए।

मंगलबार दिनभर केएसमीमा भएको वार्ता सहमतिनजिक पुगे पनि शिक्षामन्त्रीको पत्रका कारण भाँडिएको अस्पतालका व्यवस्थापक दाहालले बताएका थिए ।

वार्तामा दाहालको निलम्बन आजैदेखि फिर्ता लिने भएपछि आन्दोलनमा रहेका ८१ जना चिकित्सक तथा कर्मचारी काममा फर्किएका छन्।

प्रतिक्रिया