सरकार परिवर्तन अत्यन्त आवश्यक : डा. कोइराला

काठमाडौं : कांग्रेस नेता डा. शेखर कोइरालाले देश अत्यन्तै अप्ठ्यारो परिस्थितिमा रहेकाले माओवादी नेतृत्वको सरकार परिवर्तन गर्न अत्यन्तै आवश्यक भएको बताएका छन् । 

राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर नेपाल प्रजातन्त्र सेनानी संघले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले सुशासन कायम, भ्रष्टाचार निर्मूल गर्न र देशलाई संमृद्धिको बाटोमा लगेर रोजगारीको अवसर सिर्जना गर्न माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नु आवश्यक भएको बताए । 

देशमा भ्रष्टाचारको अन्त्य, सुशासन कायम, रोजगारी सिर्जना कांग्रेस नेतृत्वको सरकारले गर्न सक्ने दाबी गर्दै उनले भने ‘सुशासन पनि कायम गर्न सकिन्छ, भ्रष्टाचार पनि अन्त्य गर्न सकिन्छ, रोजगारीका अवसरहरु पनि सिर्जना गर्न सकिन्छ । त्यसको निम्ति यो सरकारलाई परिवर्तन गरिकन नेपाली कांग्रेसको नेतृत्वमा सरकार आउन जरुरी छ । यो अत्यन्त आवश्यक भइसक्यो ।’

उनले राजनीति गर्ने व्यक्तिरुमा नैतिकता र र संस्कार दुवै घट्दै गइरहेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरे । ०८४ को चुनावमा एक्लै निर्वाचन लड्नुपर्ने उनको भनाइ छ । तर, चुनावी प्रणालीका कारण कसैको पनि बहुमत आउन नसक्ने अवस्थाको जिकिर गर्दै अबको कांग्रेसको गठबन्धन लोकतान्त्रिक शक्तिसँग मात्रै हुनुपर्ने उल्लेख गरे । कम्युनिष्टसँग गठबन्धन बनाउनै नहुने उनले बताएका छन् । 

कोइरालाले भने, ‘निर्वाचन प्रणालीले गर्दा हामी गठबन्धनको सरकारमै जानुपर्ने हुन्छ । संविधान संशोधनमार्फत निर्वाचन प्रणाली परिवर्तन गर्ने भए पनि गरौं होइन भने प्रि–इलेक्सन गठबन्धन गर्ने हो भने लोकतान्त्रिक शक्तिहरुसित मात्रै हुन्छ, कांग्रेसको गठबन्धन अरुसँग हुँदैन । कम्युनिष्टहरुसित कुनै किसिमको संगठन गरेर हामी जान हुँदैन ।’ 

निर्वाचनबाट कांग्रेस ठूलो दल भए पनि माओवादीलाई सरकारको नेतृत्व दिइएको प्रति उनले असन्तुष्टि पोखे । उनले भने, ‘अहिले कांग्रेस ठूलो पार्टी, सरकार चाहिँ माओवादीलाई दिएको छ । प्रधानमन्त्रीले हाम्रो मन्त्रीहरुको रिपोर्टकार्ड माग्नुहुन्छ ।’

उनले नेतृत्वको तहमा पुगेपछि सबै ठूला काण्डहरु ढाकछोप हुने गरेको भन्दै ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड, एनसेल सेयर प्रकरणजस्ता सबै ठूला घटनालाई कांग्रेस नेतृत्वको सरकार बनाएर निर्णायक निष्कर्षमा  पु¥याउनुपर्ने धारणा राखे । 

उनले भने ‘यस्ता सिरियस कुराहरु छन् यसलाई हामीहरुले ढाकछोप गरेर चल्न सक्दैनौ अब । त्यसकारण नेपाली कांग्रेसको नेतृत्वको सरकार यी कुराहरुलाई लजिकल एण्ड गरेर अगाडि जान सक्यौं भने र कांग्रेसको पन्ध्रौं महाधिवेशनको मिति तोकेर हामीले अधिवेशन ग¥यौं भने,नेतृत्व परिवर्तन हुन्छ । त्यसले नयाँ कांग्रेस बनाएर हामी जान सक्छौं ।’

उनले कांग्रेसको पन्ध्रौं महाधिवेशन सम्पन्न गराएर पार्टीभित्र पनि नयाँ नेतृत्व ल्याएर नयाँ कांग्रेस बनाउनेतर्फ जोड दिए ।

प्रतिक्रिया