सांसद सुनिल शर्माले गरेको स्वास्थ्य शिविरमा बिरामीको घुईंचो

दाङ। बिहीबार दाङको शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटमा सांसद सुनिलकुमार शर्माले सञ्चालन गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउनेको घुँईंचो लागेको छ। बिहीबार काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा १३ सय १९ जनाको स्वास्थ्य जाँच गरियो।

काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुसहित लुम्बिनी प्रदेश पुगेका संघीय सांसद सुनिलकुमार शर्माले चिराघाटमा आयोजित निःशुल्क स्वास्थ्य शिविरलाई संवोधन गर्दै जनतालाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउन सक्नुपर्ने बताए। राज्यले जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिनुपर्नेमा असफल भएको चर्चा गर्दै राज्य जनताप्रति जवाफदेही बन्न नसकेको जिकीर गरे। सांसद शर्माले शिविरबाट ओ.टी. रेफर भएका बिरामीहरुलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क अपरेशन गरिने पनि बताए।

शिविरमा १७६ जनाको भिडियो एक्सरे, १४३ जनाको ल्याब परीक्षण, ४२ जनाको इसिजी, १४१ जनाको इको गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए। दाहालका अनुसार शिविरमा ५३ जनाको दाँत खोलिएको थियो भने, ५३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ।

शिविरमा स्त्री तथा प्रसुति रोग, बाल रोग, जनरल मेडिसिन, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नी लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए। शिविरबाट ओ.टी. रेफर भएकाहरुलाई सांसद शर्माले केएमसीमा निःशुल्क उपचारको व्यवस्था गरेका छन्। गाउँमै काठमाडौंबाट विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य टोली आएको थाहा पाएपछि स्वास्थ्य जाँच गराउन सो क्षेत्रका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरु भीड लागेको थियो।

स्वास्थ्य शिविरमा केएमसीका २५ जनाको स्वास्थ्य टोली रहेको छ। उक्त टोलीले बुधबार प्यूठानको गौमुखी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर गरेको थियो।


 

प्रतिक्रिया