कांग्रेस महासमितिको बैठक फागुनमा

काठमाडौं । नेपाली कांग्रेसले फेरि महासमिति बैठक सारेको छ।

पार्टी कार्यालय सानेपामा आज दिउँसो बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनलाई देखाएर महासमिति बैठक आगामी फागुन ७ देखि १० गते गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए।

“राष्ट्रिय सभाको पनि निर्वाचन हुँदै छ। त्यतातिर पनि हामी लाग्नुपर्ने हुन्छ। फागुन ७ देखि १० गतेसम्म महासमितिको बैठक बस्ने कुरा आजको बैठकमा प्रस्तावित भएको छ। त्यहि अनुसार नै निर्णय हुन्छ,” महतले भने।

यसअघि पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्ने तय भएको थियो। योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटकको लागि सरेको छ।

साथै आजको बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि कांग्रेसले दल दर्ता गर्ने निर्णय समेत गरेको छ। राष्ट्रियसभाको निर्वाचनका लागि गठबन्धन दलसँग छलफल हुन बाँकी रहेको उल्लेख गर्दै निर्वाचनका लागि दल दर्ता गर्ने जिम्मेवारी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिइएको जानकारी महतले दिए।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आजसम्मको समय तोकेको छ। बैठकले राष्ट्रियसभाको निर्वाचनबारे काम गर्ने अधिकार कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको छ।(नेपाल न्यूज बैंक)  

प्रतिक्रिया