'अरु कुरा थाहा छैन साथी हो, मलाई एक पटक जिताइदिनोस्'

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी एक कार्यकालका लागि एकपटक आफूलाई सभापतिमा विजयी गराउन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार पार्टीको महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले डरत्रासमुक्त समाज निर्माणका लागि आफूलाई विजयी गराउन आग्रह गरेका हुन् ।

उनले आफ्नो सरकार गठन हुनुअघि जनता डरत्रासमा बसेका भन्दै आफ्नो सरकार गठनपछि जनताले डरत्रासबाट मुक्ति पाएको अभास गरेका बताए । उनले भने,‘मेरो सरकार गठनअघि कस्तो त्रास थियो ? अहिले मुक्ति पाए जनताले । ओलीको शासनबाट मुक्ति पाए जनताले। अब त्यो मुक्तिलाई बचाउने हो कि के हो ? यो महाधिवेशनले तानाशाही सरकार नआओस् भन्नका लागि निर्णय गर्नुपर्छ । आगामी निर्वाचनपछि गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बन्छ । यो मेरो जिम्मा भयो ।’

उनले देशभरबाट कतिपय साथीहरु प्रतिस्पर्धाबाट छनौट भएर आएको भन्दै मनमुटावबाट मुक्त हुनुपर्ने बताए । उनले भने,‘फेरि स्थानीय, संघीय चुनाव आउँछ । हाम्रो आन्तरिक निर्वाचनले आगामी निर्वाचनमा कुनै समस्या नआओस् । मिलेर जानुपर्छ सबै साथीहरु । काग्रेसको सरकार रहिरहे स्थानीय तहको निर्वाचनपछि सरकार कांग्रेसको हुनेछ र स्थानीय सरकार रहिरहे राष्ट्रिय सरकार कांग्रेसको हुनेछ । मलाई एक पटक जिताइदिनोस् । त्यही हो साथीहरु । मलाई धेरै कुरा भन्नु छैन । डरत्रासबाट मुक्त शासन ल्याएर छाडिन्छ । ओलीको जस्तो त्रासयुक्त सरकार कहिल्यै आउँदैन । डरत्रासमुक्त शासन ल्याएर सरकार ल्याइन्छ, बनाइन्छ तपाइँहरु मलाई साथ दिनुस्।’ प्रधानमन्त्रीले वरिष्ठ नेता पौडेललाई भने व्यंग्य गर्दै भने, ‘रामचन्द्रजीले चीसोका कारण बोल्न सक्नु भएन विचराले के गर्ने ?’

प्रतिक्रिया