लामो समयपछि ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लामो समयपछि एउटै मञ्चमा देखिएका छन् ।

भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहमा प्रचण्ड र ओलीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल पनि सँगै देखिएका हुन् । गत पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र प्रचण्ड एउटै मञ्चमा देखिएका थिएनन् । आफ्ना पूर्वसहकर्मी माधवकुमार नेपालसँग पार्टी विभाजनपछि ओली पहिलो पटक मञ्चमा देखिएका छन् ।

गत भदौमा नेकपा एमालेलाई विभाजन गरी नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका छन् । नेपालको पार्टीलाई अवैधानिक भन्दै आएका ओलीले नेपाललाई आफ्नो पार्टीको महाधिवेशनमा निम्तासमेत पठाएका थिएनन् ।

महाधिवेशनमा सम्बोधन गर्न जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जसपाबाट विभाजन भएको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा मालेका महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरु सहभागी छन्।

प्रतिक्रिया