प्रधानमन्त्री दाहाल दुबईमा

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन दुबई पुगेका छन्। उनले आज दुबईमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Photo (2) (7)बुधबार राती नेपालबाट त्यसतर्फ प्रतिनिधिमण्डलसहित प्रस्थान गरेका दाहाल स्थानीय समय अनुसार राति करिब १ः३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। उनलाई विमानस्थलमा नेपाली राजदूत तेजबहादुर क्षेत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सीलगायतले स्वागत गरेको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले आज राजधानी आबुधाबीमा रहेको नेपाली दुतावासको अवलोकन गर्नेछन्। साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम पनि रहेको सचिवालयले जनाएको छ। उनले साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरले उनको सम्मानमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

कोप–२८ मङि्सर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ। प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको छ। उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य सभामा प्रस्तुत गर्नेछन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया