संघीय सरकारसँग सहकार्यसँगै संघर्षः मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारसँग सहकार्य मात्रै नभई संघर्ष पनि गर्ने बताएका छन्।

मंगलबार विराटनगरमा आयोजित स्थानीय तहहरूको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

संविधानको कार्यान्वयन सही ढङ्गले गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने, “जबसम्म हामी पुरातन सोचमा हुन्छौँ तबसम्म हामी अगाडि बढ्न सक्दैनौँ। हामीले के गर्ने हो भन्ने कुराको योजनाका साथ जानुपर्ने हुन्छ। त्यसैले अहिलेको सरकारले संघ सरकारले समन्वयमात्रै नभई आफ्ना अधिकारहरू स्थापित गर्न संघर्ष पनि गर्छ।”

मुख्यमन्त्री कार्कीले सरकारका संयन्त्रहरूले दिगो विकासका लक्ष्यअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

“हामीले त काम सुरु गरिसकेका छौँ, कनिकासरी बजेट छर्ने परिपाटी अन्त्य गर्दै छौँ, प्रदेशले कतिसम्मका कार्यक्रम गर्ने, संघले कति र स्थानीय तहले कति गर्ने भन्ने कुरामा मापदण्ड बनाउनुपर्छ” उनले भने, “ताकि संघ सरकारले पनि साना योजनामा बजेट नछरोस्। प्रदेशले त साना योजना कटौती गरिसकेको छ।”

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व मुख्यमन्त्री कार्कीले गरेका थिए।

संघीय मन्त्री देवीले तीनै तहको सरकारबीच समन्वय भएमात्र विकासले गति लिनसक्ने बताइन्। 

उनले भनिन्, “स्थानीय सरकारले अब कसरी अघि बढ्ने भनेर एउटा रोडम्याप बनाउन जरुरी छ।” मन्त्री देवीले विनियोजित बजेट समेत स्थानीय सरकारबाट खर्च हुन सक्ने अवस्था सिर्जना हुनु योजना तथा तयारीको अभावले हुने गरेको जिकिर गरिन्। 

प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले कतिपय संघीय कानुन निर्माण हुन नसक्दा साझा अधिकार सूचीमा रहेका अधिकारहरुको प्रयोग हुन नसकेको बताए।

कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला, प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो।

संघीयता कार्यान्वयनसँगै लोकतन्त्रको सुदृढीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित असल अभ्यास कार्यक्रममा भएका उपलब्धिहरूका बारेमा भोलिसम्म प्रस्तुति दिइने जनाइएको छ।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया