'गणतन्त्रको विकल्प छैन, राजतन्त्र फर्किन असम्भव'- सभापति देउवा

चितवन। नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्। आज भरतपुर विमानस्थलमा सम्वाददाताहरुसँग कुरा गर्दै सभापति देउवाले भने, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन, राजतन्त्र फर्किने कुरा असम्भव छ।”

सभापति देउवाले गणतन्त्रको बिरोध गर्नेहरुको अर्थ नरहेको भन्दै के गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् भनेर प्रश्न गरे। उनले भने, “को अत्तालियो, हामी त अत्तालिएका छैनौँ।” 

कांग्रेस नेता डा शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए। उनले भने, “राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ। यहाँ हरेक कुराको सम्भावना छ। संसदले चाह्यो भने जे पनि हुनसक्छ।” सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको कोइरालाको भनाइ थियो।

गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै कोइरालाले भने, “मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन। मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन।” सङ्घीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उनको भनाई थियो। कोइरालाले भने, “जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ।”

नारायणगढ–बुटवल सडक खण्डका विषयमा आफूले निर्माण व्यवसायीलाई १२ पटकसम्म भन्दा पनि काम हुन नसकेको र यस विषयमा संसदमा कुरा उठाउने सांसद कोइरालाले बताए।

प्रतिक्रिया