विश्वकप छनोटको दोस्रो खेल काठमाडौंमा हुने

काठमाडौं। विश्वकप फुटबल छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले, आज पत्रकार सम्मेलन गरी नेपाल र यमनबीचको पहिलो लेग मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।

घरेलु मैदानमा यमनसँगको खेलअघि नेपालले यूएईसँग उसकै घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्ने छ। यो खेल कात्तिक ३० गते हुने एन्फाले जनाएको छ।

यो समूहमा बहराइन पनि छ। बहराइन र नेपालबीचको पहिलो लेग भने आउँदो मार्च २१ मा दशरथ रंगशालामा नै हुने तय छ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्बर्टो एनेससँगको सल्लाहमा नेपालाई फाइदा हुने गरी ओमानसँगको खेल बेलुकी ७ बजे खेलाउन लागिएको एन्फा प्रवक्ता सुरेश शाहले बताएका छन्।

विश्वकप छनोटका लागि एनेसले २६ जना खेलाडीलाई बन्द प्रतिक्षण गराइरहेका छन्। जसबाट २३ सदस्य खेलका लागि छानिने छ। यस्तै यमनी राष्ट्रिय टोलीका लागि भने च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाएको शाहले बताए।

नेपाल र यमनबीचको खेलका लागि टिकटको मुल्य साधारण प्यारापिटतर्फ ४०० र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको शाहले बताए। यस्तै उक्त खेलको प्रत्यक्ष प्रशारणको तयारी अन्तिम चरणमा पुगेको र मिडिया पार्टनर केही दिनमै टुङ्गो लगाउने एन्फाले जनाएको छ।

दोस्रो चरणको सबै खेलको कमर्सियल एन्ड मिडिया राइट सिगापुरस्थित स्पोर्टफाइभलाई दिइएको छ। एन्फाले खेलको अनुमानित लागत ७३ लाख  ६८ हजार ४०० लाग्ने बताएको छ।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया