पाटन अस्पतालका डाक्टर सहित स्वास्थ्यकर्मी उत्रिए आन्दोलनमा

काठमाडौं। आकस्मिक बाहेकका सबै सेवा वन्द गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू आजबाट आन्दोलनमा उत्रिएका छन्।  

बिरामी मृत्यु भएको घटनापछि चिकित्सकलाई कुटपिट गरेको विरोधमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आन्दोलन सुरु गरेको बताएका छन्।

चिकित्सक र स्वास्थ्यकर्मीहरूको समूहले विज्ञप्ति प्रकाशित गर्दै स्वास्थ्यकर्मीमाथि कुटपिट, गालीगलौज, दुव्र्यवहार र ज्यान मार्ने धम्की समेत दिइ बन्धक बनाएर स्वास्थ्य सेवा प्रवाहमा दखल पुर्याइएको भन्दै विरोधमा उत्रनुपरेको स्पष्ट पारेका छन्।

डाक्टरमाथि मुक्का, प्रहरीकै अगाडि खुँडा हान्ने धम्की दिँदा पनि २ दिनसम्म दोषीलाई कुनै कानुनी कारवाही नभएको उनीहरूरुको गुनासो छ। 

त्रासपूर्ण वातावरणमा सेवा दिन असमर्थ रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको भनाइ छ। आकस्मिक सेवा र आकस्मिक अप्रेसन बाहेकमा सेवामा उपस्थित नहुन  चिकित्सकहरूले घोषणा गरेका छन्।  

गत शनिबार साँझ जेष्ठ नागरिक वार्डमा बिरामीको मृत्यु भएको विषयलाई लिएर दुई चिकित्सकमाथि आक्रमण भएको थियो। स्वास्थ्यकर्मीले सुईमार्फत गलत औषधि दिएका कारण तत्काल बिरामीको मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएका छन्।

दोषीलाई प्रचलित ऐन अनुसार कारवाही नहुँदासम्म सेवा बन्द गर्ने चिकित्सक, स्वास्थ्यकर्मीहरूले बताएका छन्।
 

प्रतिक्रिया