पशुपंक्षीको उपचारका लागि भूकम्प प्रभावित क्षेत्रमा पुग्यो विशेषज्ञ टोली

काठमाडौं। भूकम्पबाट प्रभावित क्षेत्रमा घाइते भएका पशुपंक्षीको उपचार गर्न विशेषज्ञ टोली जाजरकोट गएको छ। 

कृषि तथा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले शनिबार प्रभावित क्षेत्रमा पठाएको चार सदस्यीय विशेषज्ञ टोलीले घाईते पशुपंक्षीको उपचार गर्ने छ । 

कृषि मन्त्रालयका सचिव डा. रेवतीरवण पौडेलका अनुसार पशुपंक्षीको रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा. लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा. राकेश प्रजापतीको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइएको छ। उनीहरुले भूकम्पले बढी प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिममा पशुचौपायाको उपचार गर्ने छ।

स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपंक्षीको उपचारमा लाग्ने टोलीले जनाएको छ । 

शुक्रबार रातिको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो संख्यामा मानविय र भौतिक क्षति भएको छ । सँगै धेरै घरपालुवा पशुचौपाय पनि भूकम्पबाट प्रभावित छन्।  

भूकम्पबाट पशुपंक्षीसमेत प्रभावित भएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालले प्रभावित क्षेत्रमा विशेषज्ञ टोली पठाउन निर्देशन दिएका थिए।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले केन्द्रीय मन्त्रालयमा जाजरकोटमा भूकम्पबाट गाई, भैंसी, बाख्रा गरी २७ पशुको क्षति भएको विवरण दिएको छ। थप विवरण संकलन भइरहेको कर्णाली प्रदेश मन्त्रायलले जनाएको छ।

 

प्रतिक्रिया