पार्टी रुपान्तरणका लागि महामन्त्रीमा उम्मेदवारीः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा थापाले १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् ।

महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उनले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गरेका छन् । उनले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उम्मेदवारी घोषणा भएको बताए ।

उनले चुनाव आफैं जित्ने जनताको रोजाईको कांग्रेस बनाउने योजनाका साथ आफू अघि बढेको बताए । उनले भने, ‘अव चुनाव जितिन्छ, जितिन्छ भनेर भाषण गर्नै पर्दैन । चुनाव आफैं जितिन्छ । आफैं आउँछन् मतदाता । लाईन लागेर आउँछन् । काँग्रेस त्यो छान्न मन लाग्ने, रोज्न मन लाग्ने, कांग्रेससँग जोडिन मन लाग्ने कांग्रेस बनाउने हो । त्यो कांग्रेस बनाउने कुरा हाम्रो मिसनले बनाउँछ । यो सँगसँगै महामन्त्रीको अर्को काम भनेको पार्टीको व्यवस्थापन पनि हो ।’

थापाले आफू महामन्त्री भए कांग्रेसलाई देख्न, सुन्न र बुझ्न सक्ने पार्टीको रुपमा स्थापित गराउने दाबी गरे । उनले महामन्त्रीको रुपमा आफूले कांग्रेसलाई प्रश्न होइन, उत्तर दिने, समस्या होइन, समाधान दिन सक्ने पार्टी बनाउने संकल्प लिएको बताए । त्यसका लागि आफूले अघि सारेको अवधारणाले काम गर्ने उनले बताए ।

प्रतिक्रिया