नयाँ प्रविधिबाट उपचारमा केएमसीको फड्को

काठमाडौँ। काठमाडौँ मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेडले अत्याधुनिक मेसिनहरु भित्र्याएर नेपालमा हुँदै आएको महँगो उपचार पद्दतिलाई सस्तो बनाउँदै लगेको छ। नयाँ–नयाँ प्रविधिको प्रयोगबाट बिरामीको उपचारमा निरन्तर अघि बढ्दै गएको छ।

नयाँ प्रविधिका कारण बिरामीलाई उपचारमा सहज हुनेमात्र होइन दुःख पाएर उपचार गर्नुपर्ने अवस्थाको अन्त्यसमेत गर्दै गएको केएमसीले जनाएको छ। 

केएमसीले हालैमात्र एक महिलाको न्युरो इन्डोभास्कुलर कोइलिङद्वारा मस्तिष्कको शल्यक्रिया नगरी सफलतापूर्वक उपचार गरेको छ। केएमसीका वरिष्ठ इटरवेंशनल न्युरोलोजिस्ट डा. समर्थ सिंहको नेतृत्वमा काठमाडौँकी ६० वर्षीया महिलाको टाउकाको चिरफार नगरी न्युरो इन्डोभास्कुलर कोइलिङ प्रविधिबाट उपचार गरिएको हो।

ब्रेन हेमोरेज (सबएरेकनोइड हेमोरेज) भएर आएकी ती महिलाको रक्तनलीबाट मस्तिस्कमा पुगेर ब्लक भएको रक्तनली खुलाइएको डा. सिंहले जानकारी दिए।

बिरामीको ब्रेनको पछिल्लो भागको रक्तनलीमा बेलुन जस्तो फुकुन्डो जसलाई मेडिकल भाषामा ब्रेन एन्युरिज्म भनिन्छ, त्यही फुटेर मस्तिस्कमा रक्तस्राव भएको थियो। 

सोही फुकुन्डो न्युरो इन्डोभास्कुलर कोइलिङ प्रविधिबाट बिरामीको टाउको नचिरिकनै कॉइलिंग पद्धतिबाट सो फुटेको फुकुन्डोमा रक्तप्रवाह बन्द गरेर सफलतापूर्वक उपचार गरेको डा. सिंहले बताए। 

परम्परागत न्युरोसर्जरीमा टाउको चिरेर शल्यक्रिया गर्दा न्युरोसर्जरी पश्चात स्वास्थ्य सम्बन्धी जटिलता बढी हुनाले बिरामीको आईसीयू बसाइ लामो हुँदै आएको थियो। तर नयाँ प्रविधिबाट उपचार गर्दा लामो समय बस्नै नपर्ने र बिरामीलाई दुःख पनि नहुने डा. सिंहको दाबी छ। 

स्वास्थ्य जोखिम पनि निकै कम रहेको बताउँदै डा. सिंहले न्युरो इन्टरवेंशन प्रविधिको प्रयोगबाट नसा तथा मस्तिस्क, मेरूदण्डलगायत गम्भीर प्रकारका रोगको उपचारमा पनि ठूलो सफलता मिल्दै गएको जनाए। 

खासगरी मस्तिष्कको रक्तनली ब्लक भएर ब्रेन–अट्याकर पक्षघात, ब्रेन हेमोरेज भएका, सवारी दुर्घटनामा टाउकोमा गम्भीर रूपमा रक्तनली फुटेका बिरामीहरुको उपचारमा न्युरो इन्टरवेंशनल प्रविधि बरदान सावित भएको छ।

केएमसीलाई अत्याधुनिक प्रविधियुक्त बनाउने जस तत्कालीन कार्यकारी अध्यक्ष डा. शर्मालाई नै जान्छ। डा. शर्माले तीन वर्षअघि केएमसी लिएसँगै स्वास्थ्य सेवालाई आधुनिकीकरण गरेका हुन्।

केएमसीका प्रबन्धक नारायण दाहालले नेपालको स्वास्थ्य क्षेत्रमा केएमसीले भित्र्याएका नयाँ सेवाहरू विश्वस्तरीय रहेको भन्दै अब कुनै पनि बिरामीले उपचार भएन भनेर विदेश जानुपर्ने अवस्था नरहेको बताए। 

उनले प्रतिनिधि सभाका सांसदसमेत रहेका डा. सुनीलकुमार शर्माले अस्पताल सम्हालेपछि निरन्तर नयाँ प्रविधि भित्र्याएर उपचार भइरहेको बताए। 

उनले भने, “हामीसँग भएको न्युरो इन्टरवेंशनल प्रविधि विश्वकै स्वास्थ्य क्षेत्रको नवीनतम उपकरण हो। यो प्रविधिबाट टाउको तथा मेरुदण्डका जस्तोसुकै गम्भीर रोगको पहिचान गर्न र उपचार गर्न सकिन्छ।” 

दाहालले केएमसीले भित्र्याएको यस प्रविधिबाट उपचार गर्दा अन्य अस्पतालहरुको दाँजोमा कम शुल्क लिएको र प्राथमिकतामा आम जनता नै रहेको बताए। 

प्रतिक्रिया