कांग्रेसका आठ सह–महामंत्रीमा तीन दर्जनको दाबी 

 

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ । थप ३३ सदस्य मनोनित गरेर केन्द्रीय समितिलाई कुल १ सय ६७ सदस्यीय बनाउनुपर्ने विधानतः व्यवस्था छ । 

निर्वाचनबाट एक सभापति, दुई उपसभापति, दुइ महामन्त्री र संविधानले व्यवस्था गरेको क्लस्टरअनुसार आठ जना सहमहामन्त्री चयन हुनेछन् । कांग्रेसको सभापतिमा उठन कम्तीमा १५ वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको र केन्द्रीय महाधिवेशन प्रतिनिधि भएको हुनुपर्ने विधानमा व्यवस्था छ । उपसभापति, महामन्त्री र सह–महामन्त्रीका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्य रहेको र महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ ।

१४ औं महाधिवेशनमा सभापति र महामन्त्रीमा झैं आठ जना सह–महामन्त्रीका लागि पनि तिब्र प्रतिश्पर्धा हुँदैछ । विधानले महिला, आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक जना गरी केन्द्रीय समितिमा आठ जना सहमहामन्त्रीको व्यवस्था गरेको छ । महाधिवेशनको उदघाटनको अघिल्लो दिनसम्म सह–महामन्त्रीमा तिन दर्जनभन्दा बढीले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । 

महिला कोटामा कांग्रेसको संस्थापन पक्षबाट चित्रलेखा यादव, पुष्पा भुषाल, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय डीनाले दाबेदारी पेश गरेका छन् भने, देउवाइतर समूहबाट सरिता प्रसाईं र कमला पन्तको दाबी छ । 

आदिवासी जनजातिबाट संस्थापनबाट सीता गुरुङ र भीष्मराज आङ्दम्बे तथा ‘इतर’बाट धनराज गुरुङ र विकास लामाको दाबेदारी छ । दलिततर्फ संस्थापनमा मीनबहादुर विश्वकर्मा र मानबहादुर विश्वकर्मा तथा इतरबाट जीवन परियारको दाबी छ । 

मधेसीबाट संस्थापनबाट जीतेन्द्र देव, अजय चौरासिया र महेन्द्र यादव तथा इतरबाट रञ्जित कर्ण र रामकृष्ण यादव दाबेदार हुन् । खस आर्यतर्फ देउवा खेमाबाट रमेश रिजाल, मोहनबहादुर बस्नेत, किशोर सिंह राठौरले कम्मर कसेका छन् । इतरबाट दिलेन्द्रप्रसाद बडु र दीपक गिरीको नाम उछालिएको छ । यही कोटामा शिवप्रसाद हुमागाईंको पनि दाबी छ, जसलाई कृष्णप्रसाद सिटौलाको आर्शिवाद भएको बताइन्छ । 

थारु समुदायबाट संस्थापनका योगेन्द्र चौधरी र रामजनम चौधरी तथा इतरका उमाकान्त चौधरी र तेजुलाल चौधरी भिडने भएका छन् । मुस्लिमबाट संस्थापन समूहका फरमुल्लाह मन्सुरले दाबी गरिरहँदा अतहर कमाल मुसलमानलाई इतर समूहले उठाउने संभावना छ । 

पिछडिएको क्षेत्रबाट संस्थापनबाट जीवनबहादुर शाहीले दाबी गरेका छन् । इतरबाट बद्री पाण्डेले उम्मेदवारी घोषणा गरिसकेका छन् । शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत भएकाले विचार, साँगठिनक शक्रियता र निरन्तरताका हिसाबले बद्री पाण्डेलाई पिछडीएको क्षेत्रबाट सह–महामन्त्री बनाउनुपर्ने अधिकांशको मत देखिन्छ । मुख्यमन्त्री शाहीसँग पद, पैसा र अन्य पहुँचको शक्ति भए पनि पाण्डेसँग विचार र पार्टीलाई हाँक्नसक्ने भिजन भएको कांग्रेसवृत्तमा चर्चा छ । 
 

प्रतिक्रिया