आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, दिउँसो ४ः१९बजेबाट सुतक

काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा खण्डग्रास चन्द्रग्रहण लाग्ने दिन। 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक शनिबार दिउँसो ४ः१९ बजेदेखि सुरु हुनेछ । राति २ः३८ बजे ग्रहण सकिने (पञ्चाङ्ग) पात्रोमा उल्लेख गरिएको   छ । 

यो चन्द्रग्रहण विसं २०८० मा लाग्ने एक मात्र ग्रहण भएको समितिले जनाएको छ । 

ग्रहणका बेलामा स्नान गरी शुद्ध भावले विभिन्न मन्त्रोच्चारण गर्नाले राम्रो हुने मानिन्छ । तर, विशेष कामना राखेर गरिने कर्म भने गर्नुनहुँने बताइन्छ । 

धर्मशास्त्रका ग्रन्थमा चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने उल्लेख गरिएकाले आज राती लाग्ने ग्रहणको दिउँसो ४ः१९ बजेदेखि बार्नुपर्ने हुन्छ । बाल, वृद्ध र बिरामी बाहेकले भोजन गर्न नहुने बताइएको छ। ग्रहणका बेला जप, स्नान,ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । 

ग्रहण लागेका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी वा त्यो पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु,कालमाधव, लगायतका धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । 
 

प्रतिक्रिया