प्रसिद्ध तीर्थस्थल पाथिभरामा श्रद्धालुहरूको भीड

विराटनगर । दशैं सुरु भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध पाथिभरा धाममा दर्शन र पूजाअर्चना गर्न जानेको संख्या उल्लेख्य रुपमा बढेको छ ।

पाथिभरामा अरु बेला पनि तीर्थालुहरु पुग्ने गरेका छन् । खासगरी दशैंमा भवगतीको पूजा अर्चना गरिने भएकाले यही बेला धेरै श्रद्धालु पाथिभरा पुग्ने गरेका छन् ।

दशैंको पहिलो दिन करिब १ हजार ३ सयजना श्रद्धालुले पूजा अर्चना गरेको पाथिभरा संरक्षण समितिले जनाएको छ । त्यसयता दैनिक रुपमा तीर्थयात्रीको संख्या बढिरहेको छ ।

तीर्थयात्रीको संख्या यकिन गणना गर्न यसपटक सीसी क्यामरा जडान गरिएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । 

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथिभरामा दशैंका बेला तीर्थयात्रीको भीड हुने भएकाले होटल, यातायात जस्ता क्षेत्र पनि लाभान्वित हुने गरेका छन् ।

पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेका अनुसार अब सुरु भएको पाथिभरा यात्रा मध्य मंसिरसम्म जारी रहन्छ ।

स्थानीय छायाँ खतिवडा दशैंमा दुर्गा भवानीलाई शक्ति माताका रुपमा पूजा अर्चना गरिने भएकाले भक्तजनहरु पाथिभरा आएर पूजा गर्न इच्छुक हुने गरेका छन् ।

एक पटक आएका तीर्थयात्री दोहोर्याइ तेहर्याइ आउने गरेको उनले सुनाइन् । पाथिभरा धाममा नेपालका प्रायजसो सबै क्षेत्रका साथै भारत र भुटानका श्रद्धालुहरु समेत आउने गरेका छन् । (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया