धुलिखेल अस्पताल सुधार गर्न झण्डै तीन अर्बको परियोजनामा हस्ताक्षर

काठमाडौं। धुलिखेल अस्पताल सुधारका लागि नेपाल र जापान सरकारबीच झन्डै तीन अर्ब लागतको धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ।

नेपाल सरकार र जापान सरकारबीच धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि ३२९ करोड ६० लाख (लगभग  २ अर्ब ९५ करोड रुपैयाँ) को अनुदान सहयोग खर्च गर्ने सम्झौतामा आज हस्ताक्षर भएको हो।

अर्थ मन्त्रालयमा भएको उक्त कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव डाक्टर कृष्णहरी पुष्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन्।

यस्तै अनुदान सम्झौतामा नेपाल सरकार र जाइकाका तर्फबाट क्रमशः अर्थ मन्त्रालय महाशाखाका सहसचिव अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय समिति श्रीकृष्ण नेपाल र जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका छन्।

यो परियोजनाले तीव्र गतिमा बढ्दो आघात र सङ्क्रमणका लागि चिकित्सा सेवाहरूलाई सुदृढ पार्ने लक्ष्य राखेको छ ।

नेपालमा आकस्मिक विरामीहरुका लागि धुलिखेल अस्पतालमा ऊर्जा कक्ष सञ्चालन, एक आईसीयू र बाहिरी बिरामी परामर्श कक्ष सहित ट्रमा तथा आपतकालीन केन्द्र निर्माण गरी एमआरआई सीटीस्क्यान र एक्सरे मेसिन उच्च स्टीम स्टेरिलाइजर आदि मेडिकल उपकरण उपलब्ध गराई स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ। 

सम्झौता कार्यान्वयन भएको अवधिले ४८ महिना भित्र परियोजना सम्पन्न गरिसक्नुपर्ने छ। अर्थात् अवको चार वर्षभित्र परियोजना सम्पन्न हुनेछ। (नेपाल न्यूज बैंक)

 

प्रतिक्रिया