केएमसीका चिकित्सकमाथि हातपात भएपछि उपत्यकाभरी विरोध सुरु

काठमाडौं। काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालका एकजनालाई हातपात गरिएपछि त्यहाँ कार्यरत सबै चिकित्सक विरोधमा उत्रिएका छन्।

आईतबार दिउँसो करिब १ बजे ओपिडीमा आएका एक बिरामीका आफन्तले डा. मनिष खड्कामाथि हातपात गरेपछि त्यहाँ कार्यरत सबै चिकित्सक अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका हुन्।

अस्पताल परिसरमै नाराबाजी गर्दै प्रदर्शन गरिरहेका उनीहरुलाई समर्थन गर्न अरु अस्पतालका चिकित्सक पनि भेला हुनथालेका छन्। 

दिउँसो १ बजेतिर बिरामी लिएर ओपिडिमा आएका एक व्यक्तिलाई ओपिडी अगाडि भीड भएपछि डा।मनिष खड्काले उनलाई लाइनमा बस्न सल्लाह दिएका थिए। त्यसपछि ती व्यक्तिले अचानक डा. खड्कामाथि हातपात गरेका थिए।

केएमसीमा डाक्टरमाथि कुटपिट भएपछि त्यस वरपर र भक्तपुरका अन्य अस्पतालका डाक्टरहरू पनि त्यहाँ पुगेर नाराबाजी गरेका छन्।

चिकित्सकहरूले चक्रपथ बन्द गर्न जान लागेपछि अहिले केएमसीमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रहरीले उनीहरूलाई सडकमा निस्कन  दिएका छैनन्। 
 
यसअघि हेटौंडाको सञ्चो अस्पताल, पोखराको मणिपाल अस्पताल, लमजुङ जिल्ला अस्पताल, चितवनको माडी अस्पतालमा डाक्टर कुटिएका थिए। त्यसको विरोधमा डाक्टरहरू आन्दोलित भएका थिए। 

डाक्टरहरूमाथि कुटपिटपछि सरकारले नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकसँग कार्यस्थलको सुरक्षाका लागि सहमति गरेका थिए। 

प्रतिक्रिया