मुगु। स्याउ उत्पादनमा कमी आएपछि यसपालि मुगुका किसान चिन्तित बनेका छन्। विगतमा राम्रो उत्पादन भए पनि यसपटक उत्पादनमा ह्रास आएपछि किसान चिन्तित बनेका हुन्।
हिमाली जिल्ला मुगुमा राष्ट्रिय सडक सञ्जाल जोडिएपछि स्याउ पकेट क्षेत्र मानिएका ताल्चा, पिना, रोवा, शोभा, बाम, सोरुकोट, खमाले, लमेरा, सेरी, जाम क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य स्रोत स्याउ बन्दै आएको थियो।
बैशाख, जेठ महिनामा स्याउका बिरुवामा फूल फुल्ने समयमा असिना–पानी परेकाले उत्पादन प्रभावित भएको हो।
स्थानीय किसान हेमराज भामले गर्न वर्ष उत्पादन निकै राम्रो भएको बताउँदै आफूले १ लाख ५० हजार रुपैयाँको स्याउ बिक्री गरेका थिए। यो बर्ष उत्पादन कमी हुँदा २० हजार रुपैयाँ मात्र आम्दानी हुने भएको उनले बताए। आम्दानी घटेपछि समस्या हुने भएको उनको भनाइ छ।
समयमा पानी नपरेको साथै स्याउको फूल फुल्ने समयमा असिना पानीले नोक्सानी गरेकाले गत वर्षभन्दा उत्पादनमा निकै कमी आएको अर्का कृषक मणिचन्द्र भामले बताए। गर्त वर्ष २ लाख आम्दानी गर्ने कतिपय कृषकहरुले अहिले १ लाख पनि आम्दानी गर्न गाह्रो भएको छ।
पहिले परम्परा रुपमा आलु, कोदो, जौ खेतीबाट राम्रो आम्दानी नहुने भएपछि किसानले दशकयता स्याउ खेती गर्न थालेका हुन्। कतिपय किसानले स्याउ बिक्रीबाट ७ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका थिए।
यसपालि उत्पादन भएको स्याउ पनि उच्च गुणस्तरको नभएकाले बजार प्रभावित भएको किसान हरिबहादुर रोकायाले बताए। मुगु जिल्लामा गत वर्ष ११.३ हेक्टरमा स्याउ उत्पादन भएको थियो। यो वर्ष ९.५ हेक्टर स्याउ उत्पादन भएको छ।
गत वर्षको तथ्यांकअनुसार ३ सय २१ मेट्रिकटन स्याउ मुगुबाट निर्यात भएको थियो। प्रतिकिलो ३५ रुपैयाँका दरले १ करोड १२ हजारभन्दा बढी रुपैयाँ स्याउबाट जिल्लामा भिति्रएको थियो।
यस वर्ष हालसम्मको तथ्यांकअनुसार स्याउ निर्यातबाट २९ लाख ६० हजार आम्दानी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका प्रमुख तेजबिक्रम मल्लले बताए। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया