आदि-गजलकार मोतिराम भट्टको जन्मजयन्तीको अवसरमा मोति गजल मुशायरा कार्यक्रम

काठमाडौँ। आदि-गजलकार मोतीराम भट्टको जन्मजयन्तीको अवसर पारेर नेपाल गजल प्रतिष्ठानले यस वर्ष पनि गजल मुशायरा कार्यक्रम गर्ने भएकाे छ। राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा असोज ६ गते शनिवारका दिन उक्त कार्यक्रम गर्ने संस्थाका अध्यक्ष लालकाजी श्रेष्ठले बताएका छन्।

यस मुशायरा कार्यक्रममा आदि-गजलकार मोतीराम भट्टप्रति श्रद्धा सुमन अभिव्यक्त गर्दै तीन चर्चित युवा गजलकारहरूले आआफ्ना गजलहरू तरुनम र तहत शैलीमा प्रस्तुत गर्नेछन्। 

कार्यक्रममा आगो गजलकारका रूपमा परिचित तनहुँका गजलकार अन्जान यात्री, आफ्नो सुमधुर आवाज मार्फत गजललाई तरुनम शैलीमा प्रस्तुत गर्न माहिर धादिङकी गजलकार राधा कणेल र अर्का प्रखर गजलकार झापाका मिलनकुमार ढुङ्गानाको तहत एवम् तरुनमका जादुमय प्रस्तुतिहरू रहने बताइएकाे छ।

प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष  रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित तीन गजलकारहरूबाट थप तीन गजलकारको १/१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिनेछ। यसका अलावा १० गजलकारका १० उत्कृष्ट शेरहरूलाई कार्यक्रमका सहजकर्ता एवं सूत्रधार आँचल कुमार शर्माले वाचन गर्ने छन्।

यस कार्यक्रमका प्रायोजकका रूपमा ग्लोबल आइएमई बैङ्क, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, सूर्य ज्योति, सूर्य नेपाल, एभरेष्ट बैङ्क लिमिटेड, नागरिक लगानी कोष, टेम्पल टाइगर, भायनेट आदि रहनेछन्।

संस्थाले आगामी कार्तिक १८ गते सांस्कृतिक संस्थानकै मुख्य प्रेक्षालयमा साङ्गीतिक गजल गुञ्जन कार्यक्रम समेत आयोजना गर्दै छ।

“असाेज ६ मा माेती गजल मुशायरा हुँदैछ। सम्पूर्ण गजलप्रेमीलाई निम्ता दिन चाहन्छु।” अध्यक्ष लालकाजी श्रेष्ठले भने, “गजलप्रेमीहरूकाे लागि याे ठूलाे उत्सव हुने छ।”

प्रतिक्रिया