खोलाखोल्सीको निहुरो सहर बजारमा

भोजपुर। सडकको पहुँच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निहुुरो सहर बजारका भान्सामा पुग्न थालेको छ। भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने निहुरो देशका ठूला सहरमा पुग्न थालेको हो। टेम्केमैयुङ– ५ चोलन्ती, मझौलेका स्थानीयवासीले वन जङ्गलबाट सङ्कलन गरेको निहुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँ लगायतका सहरमा जाने गरेको छ। सङ्कलित निहुरो घरबाटै बिक्री गर्दै आएको स्थानीयवासी डम्बर विष्टले बताए। विगतमा त्यतिकै वन, पाखा खोलाखोल्सीमा खेर गइरहेको निहुरोले अहिले गाउँघरमा नै राम्रो मूल्य पाउने गरेको उनको भनाइ छ।

‘‘सडकको पहुँच विस्तारपछि यहाँका वन पाखामा पाइने निहुरोले मूल्य पाएको छ’’स्थानीयवासी विष्टले भने,‘‘हामीले सङ्कलन गरेको निहुरो आफ्नै घरबाट बिक्री भइरहेको छ। गाउँमा खेर गइरहेको निहुरो अहिले सहरका भान्सामा पुग्ने गरेको छ। निहुरो बिक्रीबाट घरखर्च चलाउन सहज छ।’’सङ्कलन गरेको निहुरो ठेकेदारहरुले घरमा नै आएर किन्ने गरेको स्थानीयवासी मीना बस्नेतले बताईन्। सङ्कलन गरिएको निहुरो प्रतिकेजी २५ देखि ३५ मा ठेकेदारले लैजाने उनको भनाइ छ। 

चोलन्ती, मझौलेमा सङ्कलन भएको निगुरो स्थानीय बजारमा भन्दा पनि जिल्ला बाहिरका सहरमा जाने गरेको स्थानीयवासी एकराज विष्टले बताए। एक जनाले एक दिनमा एकदेखि दुई डोकोसम्म निहुँरो सङ्कलन गर्ने उनको भनाइ छ।‘‘ खोलाखोल्सीको निहुरो सहर बजारमा पुग्न थालेको छ’’ उनले भने,‘‘निहुरो हुर्किएपछि गाईबस्तुलाई सोतरको रुपमा प्रयोग गर्दै आएका थियौँ। अहिले त्यही निहुरोले मूल्य पाएको अवस्था छ। हामीले जति धेरै सङ्कलन गरेपनि बिक्रीको लागि कुनै समस्या छैन।’’

स्थानीय बासिन्दाले वर्षातयाम सुरु भएपछि अर्थात जेठ असारबाट कात्तिक महिनासम्म निहुरो बेच्दै आएका छन्। वनजङ्गलमा सजिलै पाइने, निहुरो अर्गानिक हुने भएकाले सहरका मानिसको रोजाइँमापर्ने गरेको छ। तराईमा पाइने निहुरोभन्दा पहाडी क्षेत्रबाट जाने डौँठे निहुरोको बजारमा राम्रो माग रहेकोे स्थानीय निहुरो व्यापारी लालबहादुर विष्टले बताए। यो वर्षबाट चोलन्ती,मझौले गाउँबाट मात्र आठ मेट्रिक टन निहुरो बाहिरका बजारमा लगेको उनले जानकारी दिए। 

‘‘पहाडको निहुरोको सहरका बजारमा राम्रो माग छ’’उनले भने,‘‘गाउँबाट हिँडेको पाँचदेखि छ घण्टामा यसलाई धरान, इटहरी पु¥याउछौँ। बजारमा पु¥याएपछि बिक्रीको लागि कुनै समस्या छैन। खास गरेर पहाडको डौठे निहुरो अचारको लागि बढी माग हुन्छ। मैले मात्र यो वर्ष आठ मेट्रिक टन निगुरो बाहिर लगेँ।’’जैविक र मौसमी तरकारी निहुरो पौष्टिकताले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि फाइदाजनक रहेको पोषणविद्हरुको भनाइ छ।

निहुरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ‘ए’ लगायतका पोषकतत्व पाइने भएकाले बालबालिका तथा गर्भवती महिलालाई धेरै लाभदायक हुने उनीहरुको भनाइ छ। स्थानीयस्तरमा पाइने निहुरो बाहिरका बजारसम्म निर्यात हुने गरेकाले यसको उत्पादन र बजारीकरणको लागि गाउँपालिकाले आवश्यक पहल गर्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर योजनाबद्ध रुपमा काम गर्दै आएको उपाध्यक्ष राईको भनाइ छ।

‘‘स्थानीय सरकार सञ्चालनमा आएपछि जनतालाई केही सहज भएको अवस्था छ’’उपाध्यक्ष राईले भनिन्, ‘‘गाउँ÷गाउँमा कच्ची नै भए पनि कृषि सडक बनेकाले दुर्गम ठाउँका कृषि उपजले बजार पाएको अवस्था छ। अहिले किसानले घरबाट नै बिक्री गर्न सक्ने अवस्था छ । स्थानीयस्तरमा पाईने वस्तुको उत्पादनसँगै बजारीकरणमा गाउँपालिकाले पनि आवश्यक पहल गर्छ।’’

ऊनीउ प्रजातीमा पर्ने निहुरो पहाड र तराई सबैतिरका वन जङ्गल तथा खोलाखोल्सीमा पाइने वनस्पति हो। निगुरो पहाडी क्षेत्रमा बढी मात्रामा पाइने भए पनि यहाँका गाउँघरका स्थानीयवासीले भने कमैले मात्र खाने गरेका छन्। (रासस)

प्रतिक्रिया