"प्रचण्ड साधारण व्यक्ति होइनन्": शशाङ्क कोइराला

चितवन। नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै साधारण व्यक्ति नभएको टिप्पणी गरेका छन्। 

आज यहाँ सम्वाददाताहरुसँग सम्वाद गर्दै नेता कोइरालाले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताए। उनले प्रचण्ड नेतृत्वकै सरकारले पूर्ण कार्यकाल काम गर्न सक्ने आफूलाई लागेको पनि सुनाए। 

“मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ।” सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै कोइरालाले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए। पार्टीभित्रको खिचातानी सरकारमा प्रकट हुन नहुने उनको भनाइ छ।

विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै नेता कोइरालाले प्रचण्ड कुनै साधारण व्यक्ति नभएको चर्चा गर्दै एमाले र माओवादी केन्द्र बीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको बताए। 

अब कांग्रेस एक्लै हिँड्नुपर्ने बताउँदै कोइरालाले भने, “कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलीराखेको छ भइहाल्यो। मेरो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो।”

“इतिहास बलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेस एक्लै अघि बढ्नुपर्छ” भन्दै कोइरालाले पछिल्लो समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कमजोरी रहेको टिप्पणी गरे। अब नेतृत्व सच्चिँदै युवा पुस्तालाई अघि बढाउनुपर्ने उनको भनाई छ। विचार राम्रो भए पनि कार्यशैलीमा परिवर्तन भए पार्टी एक्लै अघि बढ्न सक्ने उनको तर्क छ।

प्रतिक्रिया