संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अन्तिम बिदाई

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि गरिएको छ। 

बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको हो। 

मंगलबार बिहान हृदयघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको थियो। त्यसपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निजी निवासमा राखिएको थियो।

संविधान सभाका अध्यक्ष स्व नेम्वाङकोअन्त्येष्टिमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी कार्यालयमा विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, ठूलो सङ्ख्यामा पार्टीका नेताकार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो। 

शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्वाराही–चावहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म लगिएको हो। नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ। संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको अकस्मात निधन भएको हो। 

हृदयघातबाट निधन भएका नेम्वाङ स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेर इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए।

विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र (माले) मा संगठित एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनले विसं २०४८ देखि २०५२ सम्म राषि्ट्रयसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए।

नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष थिए।

विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए।

त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वंर्गीय नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए। नेम्वाङ हाल इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित थिए। उनी गएको निर्वाचनामा ३० हजार २० मत प्राप्त गर्दै पाँचौं पटक विजयी बनेका थिए। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया