जुम्ला-मनाङ सडकको काम तीव्रगतिमा हुँदै

जुम्ला। जुम्ला सदरमुकाम खलङ्गादेखि डोल्पा हुँदै मनाङ र मुस्ताङसम्म जोड्ने सडकको काम तीव्रगतिमा अघि बढाइएको छ। सडक डिभिजन कार्यालय जुम्लाले अहिले उक्त सडकको स्तरोन्नतिलाई प्रथामिकताका साथ अगाडि बढाइएको कार्यालयका सव-इञ्जिनियर वीरेन्द्र रावलले जानकारी दिए।

जुम्लादेखि डोल्पाको मौरी लेकसम्मको ४५ किलोमिटर सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रमा पर्छ। निर्माण भइसकेको सडकमध्ये पहिलो चरणमा १३ किलोमिटरमा ग्राभेल गरिएको रावलको भनाइ छ। सडकलाई गुणस्तरीय बनाउनका लागि आरसिसी भइरहेको उनले जानकारी दिए।

सडक निर्माणलाई तीव्रता दिन इञ्जिनियर चित्र चौलागाई, सव-इञ्जिनियर कमला चौलागाई र वीरेन्द्र रावल तथा सुपरभाइजर मदन महतलाई निर्माणस्थलमै खटाइएको कार्यालय प्रमुख दीपेन्द्र विष्टले बताए। पहिलो चरणमा जुम्लाको दानसाँघुदेखि देब्बलगाउँसम्मको छ सय मिटर सडकमा आरसिसि प्रयोग गरिएको छ। सडक निर्माणका लागि कार्यालयले रु नौ करोड ६३ लाखमा थोदुङ कन्ट्रक्सन काठमाडौँसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८१ पुसभित्र काम सम्पन्न गर्नुपर्नेछ। (रासस)

प्रतिक्रिया