सरकारले मेडिकल शिक्षामा ‘राजनीतिक अपराधीकरण’ गर्‍यो – सांसद डा. सुनील शर्मा

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा सुनील शर्माले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मेडिकल शिक्षामा ‘राजनीतिक अपराधीकरण’ गरेको टिप्पणी गरेका छन्। 

केहीदिनअघि राजधानीमा आयोजित अन्तरक्रियामा बोल्दै सांसद शर्माले एकातिर प्रचण्डले गोहीका आँशु झारेजस्तै गरेर नर्सहरु एक दुई वर्षमा नेपालमा कोही हुँदैनन् भनेर भन्नु गलत भएको भन्दै सरकारले मेडिकल शिक्षामा ‘राजनीतिक अपराधीकरण’ गरेको आरोप लगाए। 

सांसद शर्माले भने, प्रचण्डले एक कार्यक्रममा भनेका थिए, ‘अब विस्तारै एक दुई वर्षपछि नेपालमा नर्सै भेटिँदैनन्। बाहिर पढेका बाहिरै जान्छन्। यहाँ पढ्ने छैनन्। विद्यार्थीहरु केही पढ्ने बेलासम्म यहाँ बस्छन् पढेपछि बाहिर जान्छन्। अहिले त पढ्नकै लागि पनि ठूलो संख्यामा बाहिर जाने अवस्था जो बनेको छ अब विस्तारै हाम्रा स्कुल कलेजहरु पनि रित्तिदै जाने खतरा पैदा भएको छ। विकासको जस्तो मोडेल र परम्परा अपनाएका छौँ हामी कहिलेकाहिँ ऐन, कानून र परम्पराको डोरीमा बाँधिएका छौँ हामी। यहाँ प्रक्रियाको कुरा असाध्यै जान्छ। हामी कार्यविधिको काममा फस्सौँ। परिणाम हामी दिन सक्दैनौँ। वास्तवमा भन्ने हो भने निजी क्षेत्रलाई र विदेशी पूँजीलाई आकर्षक ढंगले हामीले सुविधा नदिने र विश्वासमा नलिने हो भने देशको विकास हुँदैन।’

प्रचण्डको यो भनाइलाई लिएर सांसद शर्माले आक्रामक हुँदै प्रचण्डको नियतप्रति प्रश्न उठाए। यसलाई गम्भीरपूर्वक लिँदै सांसद शर्माले भने,‘मान्छेले जब लाज शर्म पचाउँछ नि त्यो पनि देशको प्रधानमन्त्रीले उहाँले यो बोलिरहनु भएको छ नि उहाँले सर्ट, पेन्ट, टाइमा हुनुहुन्छ तर निर्लज्जतापूर्वक नाङ्गो प्रचण्ड देखिरहेछु।’

शर्माले यसलाई थप स्पष्ट पार्दै भने, ‘म प्रमाणित गर्छु तपाईंहरुकै अगाडि। उहाँले नेपालमा नर्सहरु पाइँदैनन् भनेर भनिरहनु भा’छ यो नर्स भर्ना गर्ने अथवा भर्नाको निर्णय गर्ने संस्थाको नाम स्मरण गराउन चाहन्छु त्यसको नाम हो चिकित्सा शिक्षा आयोग। गत चार वर्षदेखि आयोग संचालन गरेर बसिरहनु भएका डा. श्रीकृष्ण गिरी भन्ने मान्छे प्रचण्डजीको नेतृत्वमा तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसमेतले नेकपा माओवादीका होनहार कार्यकर्ता गिरी सरलाई आयोगमा पठाएर नेपालमा ११७ वटा चालु अवस्थामा रहेका नर्सिङ कलेजहरुमध्ये ७८ वटा नर्सिङ कलेजहरुलाई बन्ध्याकरण गर्नुभो।’

अझ आक्रोश हुँदै तथ्य केलाउँदै सांसद शर्माले भने, ‘बन्द गर्नुभो र नेपाली नर्सहरु नेपालभित्र आवश्यक नर्सहरु नपुग्ने गरी भारतीय बोर्डर भन्दा तल्तिरपट्टी १६७ वटा कलेज खोलेर पढ्न बाध्य तुल्याउनु भो। अब भन्नुस् प्रचण्डजीले बोलिराखेको कुरा के हो? यो राजनीतिक अपराधीकरण हो कि हैन? आफ्नै सत्तामा आफैँ भएको बेला आफ्नै शिक्षामन्त्री भएको बेला नियुक्ति आफ्नो कार्यकर्तालाई गर्ने, माओवादीको कार्यकर्तालाई त्यहाँ पठाउने अनि नेपालको मेडिकल शिक्षालाई, नेपालको नर्सिङ शिक्षालाई ध्वस्त बनाउने अनि अहिले नेपालीमा भन्छ नि के रुवाइ गरेर त्यो रुवाइ गरेर हामीले विश्वास गरिदिनु पर्ने? अनि हामीले थपडी बजाइदिनुपर्ने? अनि त्यस्तो प्रधानमन्त्रीलाई देशको प्रधानमन्त्री मानेर तपाई हामी बसिरहनु पर्ने?’

उनले नेपालीले खोजेको गणतन्त्र यही हो? भनी प्रश्न गर्दै अगाडि भने, ‘हामीले चाहेको प्रजातन्त्र भित्रको व्यापारीहरु अथवा निजी सम्पत्तिमाथिको जनताको अधिकार र तिनीहरुको सुरक्षा यही हो? होइन भने तपाई हामीले बोल्नुपर्छ। हामी त बोल्दाबोल्दै पक्राउ पर्यौँ। म त कष्टडीमा गएँ, फेरि मारिउँला, फेरि गाडीले हान्न सक्छन्।’

प्रचण्डले चाहे दुई घण्टामै समाधान गर्न सक्छन् 

सांसद शर्माले प्रचण्डले चाहेका खण्डमा दुई घण्टामै समस्याको समाधान हुने दाबी गरे। उनले प्रचण्डले त्यसो गरिदिए कम्तीमा २०–२५ वर्षलाई पुग्ने डाक्टर नर्सहरु उत्पादन गर्न सकिने बताए। 

उनले सम्पूर्ण व्यवसायीहरुलाई आह्वान गर्दै भने, ‘तर तपाईहरु हामी सबै मिलेर लड्यौँ भने प्रचण्डजीले एक दिन भन्नुहुनेछ श्रीकृष्ण गिरी मेरो कार्यकर्ता थियो,कार्यकर्ता हो गलत भो हामी करेक्सन गर्छौँ भनेर उहाँले दुई घण्टाभित्र निर्णय गर्न चाहनु भो भने ११७ वटा हैन ५१७ नयाँ नर्सिङ क्याम्पसहरु एक महिनाभित्र सञ्चालनमा आउनेवाला छन्। र नेपाललाई आगामी २०–२५ वर्षसम्म चाहिने डाक्टर, नर्सहरु हाम्रो उत्पादनबाट पूरा गर्न सक्छौँ।’

उनले यदि यसो नगर्ने हो भने पीडितहरु छट्पटाएर मर्नुपर्ने अवस्था आउने भन्दै यसप्रति सचेत रहनु पर्ने बताए। 

उनले चेतावनी दिँदै भने, ‘होइन भने राज्य, सरकार र प्रचण्डजीलाई हेक्का रहोस् कोरोनाका समयमा नेपाली जनताले अक्सिजन नपाएर अस्पतालका कोरिडोरमा छट्पटाएर मरेको हाम्रा आँखाले देखेका छौँ। त्यसरी नै आजको पाँच वर्षभित्रमा ठूला एलाइटहरु प्रचण्डजी त दुबईमा जानुहोला दिल्लीमा पुग्नुहोला उपचार गर्नको निम्ति। तर सामान्य नागरिकले एउटा स्लाइन पूर्णरुपले चलाउन नजान्ने नर्सको अभावमा, डाक्टरको अभावमा फेरि कोरिडोरमा जीवन बिताउनु पर्नेछ। अथवा मृत्युवरण गर्नुपर्नेछ भन्ने म यहाँहरुलाई सूचना जारी गर्न चाहन्छु।’

गोविन्द केसीलाई देखाएर सरकारले राजनीति गर्यो 

सांसद शर्माले सरकारले सत्याग्रही प्राडा गोविन्द केसीलाई देखाएर राजनीति गरेको भन्दै त्यसले उँभो नलागिने बताए।  उनले प्रधानमन्त्री प्रचण्डले यस विषयमा पनि रोदन गरेर अब जनताले नपत्याउने बताए। 

उनले भने, ‘अहिले नपत्याउनु होला। तर डाटाले त्यही भन्छ। वार्षिक १४ सय नर्स उत्पादन गरेर मुलुकलाई पुग्छ रु पुग्दैन। यस्तो कानून कसले बनायो? देखाउने कसलाई? हाम्रो एकजना बुढो सर हुनुहुन्छ टिचिङमा। गोविन्द केसी सर। अनसन बस्नुहुन्छ सर बेलाबेला। देखाउने गोविन्द केसी सरलाई। अनि देखायो गयो गयो गयो के के न भयो भन्यो मर्यो मर्यो मर्यो भन्ने। हान्या हुन्छ टीपीएन (टोटल प्यारेन्टेरल न्यूट्रिशन)। मान्छे कहिल्यै मर्दैन ९–१० वर्ष। इजरायलमा नेतान्याहूलाई आईसीयूभित्र राख्या हैन? हामीलाई थाहा छैन? हामी मेडिकल मान्छे हैन?’

शर्माले डा. केसीलाई देखाएर सरकारले रातारात कानून पास गरेर निजी व्यवसायलाई ध्वस्त पारेको बताए। 

उनले भने, ‘अनि त्यो देखाएर एउटा कानून रातारात पास गरिन्छ। एउटा एग्रिमेन्ट गरिन्छ र निजी व्यवसायलाई ध्वस्त पारिन्छ र देशभित्र उत्पादन हुने विश्वबजारमा सबैभन्दा महँगो तलबमा काम गर्न सक्ने नेपाली म्यानपावरलाई पढ्नबाट बञ्चित गरिन्छ।’

उनले जबरजस्ती मजदूर बनाएर सरकारले विदेशमा जान बाध्य पारेको भन्दै भने, ‘विश्वबजारमा नेपालीहरु मजदूरको रुपमा मात्रै, श्रम गर्नको निम्ति, सामान्य श्रम गर्नको निम्ति तातो घाममा खाडीमा गएर हाम्रा नेपाली आमाहरुले त्यति कष्ट गरेर हुर्काएका नौजवान छोराछोरीहरुले कि त रेष्टरेन्टमा काम गर्ने कि त अर्काको घरमा बच्चा हेरेर जिविकोपार्जन गर्ने र २५ सय दिराम (एक दिराम बराबर ३६।१३ रुपैयाँ) कमाएर त्यसमा १५ सय दिराम घरमा फर्काउने अवस्था कसले सिर्जना गर्यो? यो राज्यसंयन्त्रले सिर्जना गर्या हो कि हैन? यसको हामी अन्त्य गर्ने कि नगर्ने? सामान्य उपाय छ। प्रचण्ड जीले यो रोदन जनतालाई सुनाएर बेबकुफ बनाउन जरुरी छैन।’

उद्योग धन्धा गर्ने कुनै वातावरण नै छैन 

उनले नेपालमा उद्योग धन्दा गर्ने कुनै वातावरणसमेत नभएको बताएका छन्। एकातर्फ सरकारको रबैया र अर्कातर्फ कर्मचारीतन्त्रको रबैयाका कारण कतैबाट पनि उद्योग धन्धा संचालन गर्ने वातावरण नभएको बताए। 

उनले यो विषयमा आवाज उठाउन उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) पनि अनुरोध गरेका छन्। कर्मचारीको घुसतन्त्रका कारण उद्योग धन्धा संचालन गर्ने वातावरण नभएको उनले दाबी गरेका हुन्। 

उनले भने, ‘अहिलेको नेपालमा उद्योग धन्धा गर्ने कुनै वातावरण नै छैन। घुस कहाँबाट शुरु हुन्छ हेर्नुस्। एउटा कम्पनी दर्ता गर्नको निम्ति कम्पनी रजिष्टार कार्यालयमा एउटा वकिललाई फिस दिएर पठाउनुस् तपाईले सानो कम्पनी छ भने पनि १० हजार रुपैयाँ घुस नखुवाइकन कम्पनी दर्ता हुँदैन। सबैभन्दा सस्तो घुस हो रजिष्टार कार्यालयमा। अलि ठूलो कम्पनी छ भने लाख रुपैयाँसम्म। एक रुपैयाँ पैसा नखुवाइकन कसैले नेपालमा कम्पनी दर्ता गराएको छ भने म सुन्न चाहन्छु। हेर्न चाहन्छु । त्यहाँबाट घुस शुरु हुन्छ।’

सांसद शर्माले राज्यलाई कर तिर्न पनि उत्तिकै कठिन भएको स्मरण गराउँदै सबै व्यवसायी भइसकेका र नयाँ व्यवसाय गर्न चाहनेहरुको ध्यान खिच्दै भने, ‘प्रश्न त्योमात्र हैन। ट्याक्स अफिसमा तपाई जानुस् सानो एउटा फार्मेसी चलाएको एउटा ब्यापारीले म समयमा ट्याक्स बुझाउँछु भनेर गयो भने ट्याक्स बुझाइसकेपछि म टाइममा फुल अडिट गराउँछु भनेर सोच्यो भने सोध्नु होला गएर बुझ्नु होला मैले भनेको कुरा झुठ रहेछ भने म यो मुलुक छोडेर बाहिर जान तयार छु। म राजनीति छोडिदिन तयार छु। १० लाख रुपैयाँ भेटी नचढाइकन एउटा ट्याक्सको अफिसरले फुल अडिट गर्दैन।’

थप स्पष्ट पार्दै उनले भने, ‘मलाई यसपालिको फुल अडिट आउँदो सेसनमा क्लोज गरिदिन पर्यो भनेर अलि ठूला ठूला ब्यापारीहरुले भनेका खण्डमा त्यहाँ त करोड करोडको डिल गर्नुपर्छ र मात्रै फुल अडिट हुन्छ। होइन भने तीन चार वर्ष अड्काएर कुनै इन्ट्रि छुटेको रहेछ भने तीन सय प्रतिशत पेनाल्टी यो राज्यको कानूनमा व्यवस्था गरिएको छ।’

यति ठूलो जरिवाना नेपालमा मात्र रहेको दुःखेसो पोख्दै उनले भने, ‘दुनियाँको कुनै देशमा तीन सय प्रतिशत जरिवाना हुँदैन। तर हामी नेपाली व्यापारीहरुमाथि राज्यले ‘पोलिटिकल रेप’ गरेको अवस्था हो। हामी सहेर बस्ने रु अनि तपाईहरुलाई एफएनसीसीआईमा हामीले भोट हालिदिनुपर्ने?’

यो अवस्थामा देश नचल्ने स्पष्ट पार्दै प्रचण्ड सरकारको पछिल्लो कदम दुःख दिने नियतको भएको उनको निष्कर्ष छ। 

उनले आफूलाई मन परेन भने पनि उसलाई कारबाही गरिने दाबी गरेका छन्। तेस्रो दलले पहिलो र दोस्रो दललाई हल्लाइरहेको भन्दै उनले अचम्म मानेका छन्। भन्छन्, ‘३२ सिटको माओवादीले ८९ सिट र ७९ सिटका भएका ठूला ठूला खेलाडीलाई सडकमा तल बिस्तारमा सुताएर यो राज्य चलाएपछि यो देश चल्छ?’

शिक्षा सुधारका लागि के गर्नुपर्छ? 

शिक्षा सुधारमा लागि प्राविधिक जनशक्ति बढाउनु पर्नेतर्फ जोड दिँदै सांसद शर्माले उदाहरण दिँदै भने, ‘पुल्चोक इन्जिनियरिङ क्याम्पसमा वर्षभरिको इन्टेक लिएर ५० जना उत्पादन गरेर बस्न पाइँदैन। यो देशको आवश्यकता त्यसले पूर्ण गर्दैन।’

उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा बिहानी, दिवा र रात्रि गरी तीन सत्रमा पढाउन सकिने भन्दै अगाडि भने, ‘वर्षमा चार सेमेष्टर । हाम्रा बच्चा इन्जिनियर बन्छन्। आईटी पढ्छन्। त्यहाँबाट यहीँ बसीबसी विश्वबजारमा काम गर्छन्। प्रत्येक घरले मजदूर हैन एउटा इन्जिनियर पाउँछ।’

मेडिकल उत्पादनबारे पनि उनले अगाडि भने, ‘यो टिचिङ अस्पतालले, वीपी कोइराला धरानले वर्षभरिमा १०० जना मेडिकल विद्यार्थी उत्पादन गरेर बस्न पाउँदैन। उसले दुई ओटा सेसन चलाउनु पर्छ। एउटा फेब्रुअरी सेसन अर्को सेप्टेम्बर सेसन। यो मुलुकमा प्राक्टिस गरेको डा। सुरेशराज शर्माले चलाएको २५ औँ वर्षसम्म चलेको सिष्टम हो।’

दुई सेसनको कक्षाबारे डा. शर्माले स्पष्ट पार्दै भने, ‘फेब्रुअरीमा १०० जना बच्चा आउँछ सेप्टेम्बरमा १०० जना आउँछ। नर्सहरुको संख्या त्यसरी नै जान्छ। रुकुममा होस्  वा मुगुमा होस् मुगुमा रारा ताल घुम्न जाँदा तपाई हामीलाई घोडा चढाउने एउटा विश्वकर्मा दाइको छोरीले एसएलसी पास गरिसकेपछि यहाँ आएर नर्सिङ पढ्छिन्। राज्यले हामीले पैसा दिन सक्नुपर्छ। सफ्ट लोनको व्यवस्था गर्नुपर्छ। वार्षिक रुपमा चार लाख बच्चाहरुलाई हामीले पढाउनु पर्छ। तपाई हेर्नुस् १० वर्षमा नेपाल कहाँ पुग्छ।’

नेपालीलाई तीन चिजको सुरक्षा दिनुपर्नेमा जोड

डा. शर्माले नेपालीलाई तीन चिजको सुरक्षा दिनुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘हामीले भन्न सक्नुपर्छ ठीक छ हामीले बाटो बनाउन सक्दैनौँ। हामी कुलो खन्न सक्दैनौँ अहिले। अहिले भात खाएर बाँच्दै गर्नुहोला। तर तपाईका दुई तीन ओटा कुराको ग्यारेन्टी गर्छौँ।’

राज्यले जनताका तीन महत्वपूर्ण आवश्यकता पूरा गर्ने बारेमा उनले भने, ‘एउटा हामी तपाईको स्वास्थ्य निःशुल्क गर्छौँ। अर्को हामी तपाईका बच्चाको पढ्ने जिम्मा लिन्छौँ। अर्को हामी तपाईको सुरक्षाको जिम्मा लिन्छौँ।’

एफएनसीसीआईका पदाधिकारीहरुलाईसमेत आग्रह गर्दै उनले भने, ‘कमसेकम तीन वटा कुरा गर्न सकेका दिन यो देश आज जसरी बेलबारीको हाम्रो गाउँको एउटा खवासको बच्चा लास ल्याउन नसकेर १४ लाख रुपैयाँ पर्ने भएपछि नेपाली साथीहरुले जापानमा जलाउनु भयो। सयौँ लासहरु अहिले खाडीमा आइसमा बसिराख्या छन्। त्यो दिनको अन्त्य गराउने दायित्व हाम्रो पनि हो। हामी मुलुकप्रति उत्तरदायी हुने कि नहुने? कि पैसा मात्रै कमाउने हो साथी हो? हामी मुलुकप्रति उत्तरदायी हुनुपर्छ।’

मारबाडी समुदायलाई नमन

उनले मारबाडी र नेवार व्यापारी समुदायलाई सम्बोधन गर्दै भने, ‘हामीले सानोमा सुनेको के हो भने रामलाल गोल्छा जो अहिले त हुनुुहुन्न हाम्रो हजुबुबा जस्तो मान्छे, एउटा लोटा लिएर आएर त्यो लोटा रिजालहरुलाई बेचेर त्यो पैसाले ब्यापार गरेको भनेर मैले सुनेको। म मारबाडी समुदाय होस् वा नेवार समुदाय होस् या जुनसुकै समुदायको व्यापारी हाम्रो अग्रजहरु जसले हामीलाई व्यापार सिकाउनु भयो। जसले नेपालमा उद्योग खोल्नुपर्छ, सफलतापूर्वक चलाउन सकिन्छ भनेर उदाहरणीय काम गर्नुभयो ती सबै समुदायका सम्पूर्ण साथीहरुलाई हृदयबाट नमन गर्न चाहन्छु। हाम्रा अग्रजहरुलाई म सलाम गर्न चाहन्छु।’

उनले गलत ब्याख्या कसैले पनि गर्न नहुने भन्दै स्पष्ट पार्दै भने, ‘यो मुलुकभित्र पैदा भएका, यो देशभित्र जन्मिएका मारबाडी हुन्, जुनसुकै समुदाय हुन् ती सबै समुदायहरुको, व्यापारीहरुको सुरक्षा गर्ने, उहाँहरुलाई प्रोत्साहन गर्ने र अझ बढी व्यापार गर्नोस् भन्ने दायित्व तपाई हाम्रो पनि हो। हामीले त्यसलाई गलत ढंगले ब्याख्या गरियो भने गलत ढंगले बुझियो भने यो देशको दुर्भाग्य हुन्छ ।’ 
 
प्रचण्ड सरकारको दुःख दिने नियत

प्रचण्ड सरकारको पछिल्लो कदम दुःख दिने नियतको भएको उनको निष्कर्ष छ। उनले आफूलाई मन परेन भने पनि उसलाई कारबाही गरिने दाबी गरेका छन्। 

तेस्रो दलले पहिलो र दोस्रो दललाई हल्लाइरहेको भन्दै उनले अचम्म मानेका छन्। भन्छन्, ‘३२ सिटको माओवादीले ८९ सिट र ७९ सिटका भएका ठूला ठूला खेलाडीलाई सडकमा तल बिस्तारमा सुताएर यो राज्य चलाएपछि यो देश चल्छ? 

प्रतिक्रिया