चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

काठमाडौं । नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन्। चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन्।

राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गरेकी छन्। यस चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन्। 

चलचित्रमा राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति र समाजसँग जोडिएको विषयहरूलाई देखाइएको छ। केपी फिल्मको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतले अभिनय गरेका छन्।

बिहीबारदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र ‘गणपति’ लाई सविन अधिकारीले निर्देशन गरेका छन्। उनकै लेखन रहेको सो चलचित्रमा निःसन्तान दम्पतीलाई भगवान् गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ।

चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङलगायतले अभिनय गरेका छन्। अभिनेता भुसालले चलचित्रमार्फत समाजको विकृतिलाई व्यङ्ग्य गरिएको बताए।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया