तस्करीको जालो तोड्ने काम यहीँ रोकिनेवाला छैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तस्करीको जालो तोड्ने काम नरोकिने बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जाने बताए । 

उनले भने ‘नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ । यो यहीँ रोकिनेवाला छैन । भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जान्छ। हामीविरूद्ध घेराबन्दी छ, अनेकौं कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौँ।’

प्रधानमन्त्री दाहालले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् । 

उनले भने ‘देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरूवात गरिएको छ। यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ।  त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ । जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरूवात गर्नेछ ।’

प्रधानमन्त्री दाहालले सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छट्पटी सुरू भएको दाबी समेत गरे । (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया