चेपाङ विद्यार्थीलाई बस्न र खानाको सुविधा

तनहुँ। आँबुखैरेनी गाउँपालिका कार्यालयले कक्षा ११ र १२ मा अध्ययनरत चेपाङ विद्यार्थीलाई खाद्यान्नदेखि कोठा भाडासम्म सुविधा प्रदान गरेको छ। 

घरदेखि विद्यालय टाढापर्ने भएकाले कक्षा ११ र १२ मा बसेर अध्ययन गर्नका लागि खानादेखि आवाससम्मको जिम्मा गाउँपालिकाले लिएको हो। गाउँपालिकाभरी रहेका सीमान्तकृत चेपाङ जातिका बालबालिकालाई कक्षा १२ सम्म पूर्णरुपमा निःशुल्क शिक्षा दिने निर्णय यसअघि नै गाउँपालिका कार्यालयले गरिसकेको छ।

सोही निर्णयअनुरुप विद्यालय तहको पढाइमा चेपाङ बालबालिकाको लागि कापी, कलम, पोशाकलगायतमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। विद्यालय तहमा पढ्ने बालबालिकाले घरबाट विद्यालय जान र आउन सक्ने भए पनि कक्षा ११ र १२ घरबाट सम्भव नभएकाले गाउँपालिकाले छुट्टै आवास र खानाको सुविधा प्रदान गरेको हो। 

गाउँपालिकाभित्र कम्तीमा साठी जनाको हाराहारीमा चेपाङ जातिका बालबालिका अध्ययनरत रहेको उनले बताए। आर्थिक अवस्था कमजोर भएका कारण पठनपाठनबाट बञ्चित हुन नपरोस भनि गाउँपालिकाले यस किसिमको प्रोत्साहन कार्यक्रम अघि सारेको हो। शिक्षामा निःशुल्क भएसँगै चेपाङ बालबालिकाहरु पछिल्ला समय पढाइतर्फ आकर्षित हुँदै गएका छन्।

आँबुखैरेनी–५ का राम शाह माध्यमिक विद्यालय कक्षा ११ मा भर्ना भएका विद्यार्थी अमृत चेपाङको सम्पूर्ण खर्च गाउँपालिकाले व्यवस्था गरिदिएको छ। विद्यार्थी अमृतको विद्यालयमा लाग्ने शुल्क, गास र आवास सहितको सुविधा व्यवस्था गरिदिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। 

यस क्षेत्रका चेपाङ समुदायका मुख्य आयस्रोत बाँसजन्य सामाग्री निर्माण गरी बिक्रीबाट जीविकोपार्जन गर्दै आएको सो गाउँपालिकाले जनाएको छ।(रासस)

प्रतिक्रिया