नेपाल सरकारका तीन पूर्व उच्च अधिकृतले जेहेन्दार विद्यार्थीका लागि कोष स्थापना गरे

काठमाडौं। सिन्धुपाल्चोकको पिपलडाँडा पुख्र्यौली घर भएका तीन न्यौपाने वन्धुले विपन्न जेहेन्दार विद्यार्थीको पठन पाठनमा सहयोग गर्ने उदेश्यले छात्रवृत्ति कोष स्थापना गरेका छन्। जिल्लाका तीनवटा विद्यालयहरु सिद्धिकमला मावि पिपलडाँडा, दक्षिणकाली आवि पिपलडाँडा र श्री कृष्णरत्न गंगा मावि चौतारामा कोष स्थापना गरि छात्रवृत्ति वितरणको प्रवन्ध गरेका हुन्।

पिलडाँडाका तीनजना न्यौपाने दाजुभाईहरु पुण्यप्रसाद न्यौपाने, नेत्रप्रसाद न्यौपाने र ईन्द्रप्रसाद न्यौपानेले सिद्धि कमलादेवी माविमा बद्रीनाथ गंगादेवी स्मृति छात्रवृतिको लागि २ लाख ११ हजारको कोष स्थापना गरेका छन्। कोषको साँवाबाट आउने व्याजको रकमवाट ती विद्यालयमा अध्ययन गर्ने विपन्न जेहेन्दार विद्यार्थीको पठन पाठनमा सघाईने विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सोम सापकोटाले जानकारी दिए।

त्यसैगरि न्यौपाने दाजुभाईले जिल्लाकै जेठो विद्यालय श्री कृष्णरत्न गंगा मावि चौतारमा २०५५ सालमानै वद्रिनाथ शर्मा स्मृति छात्रवृतिको लागि १ लाखको कोष स्थापन गरेका छन्। कोषको रकमलाई बैंकको मुद्दती खातामा राखिने र व्याजको रकमवाट वार्षिक रुपमा विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रावृति दिईँदै आईएको छ।

दक्षिकाली आवि पिपलडाँडाको विद्यालयमा पनि १ लाखको छात्रावृति कोष स्थापना गरिएको छ। सो कोषको रकम पनि विपन्न जेहेन्दार विद्यार्थीको पठन पाठनमा सहयोग गर्न उपलव्ध गराउने गरिएको कोषका संस्थापकमध्येका एक भाई पुण्यप्रसाद न्यौपानेले सुनाए।

बद्रीनाथ र गंगा देवी न्यौपानेका तीनभाई छोराहरु पुण्य, नेत्र र ईन्द्र नेपाल सरकारका विभिन्न उच्च पदसम्मको सेवापछि अवकाश जीवनमा व्यस्त छन्।

जेठा पुण्य महिला बालबालिका मन्त्रालय र स्थानीय विकास मन्त्रालयको सचिव तथा नेपाल प्रशासनीक प्रशिक्षण प्रतिष्ठनका कार्यकारी निर्देशकको जिम्मेवारी सफलतासथ पुरा गरिसकेका परिचित राष्ट्रसेवकमा गनिन्छन्। माहिला नेत्रले नेपाल सरकारको सहसचिव पदसम्मको सेवा गरिसकेका छन् जसले काभ्रे सहित विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको सेवामा लामो अनुभव सँगालेका छन्।

कान्छा ईन्द्रले नेपाल प्रहरीको वरिष्ठ उपरीक्षकसम्म सेवा गरेका छन्। उनले तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको सुरक्षा प्रमुखको समेत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको उनका समकक्षीहरु सम्झन्छन्। इन्द्रलाई सुरक्षा प्रवन्धका लागि निपुण प्रहरी अधिकृत मानिन्छ।
 

प्रतिक्रिया