बस दुर्घटनाको थप समाचार: आठजनाको मृत्यु, २५ सवार थिए

काठमाडौं। काठमाडौंबाट म्याग्दीको बेनी जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरी नजिकै बुधबार सवा ११ बजेतिर दुर्घटनामा पर्दा आठजना यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक मध्ये ६ पुरुष र २ महिला रहेको प्रहरीले जानकारी दिएको छ। बस त्रिशुली नदीमा खसेकाले उध्दारमा कठिनाई भैरहेको बताईएको छ।

धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले अहिलेसम्म ८ यात्रीको शव फेला परेको बताए। २३ जनाको क्षमता भएपनि बसमा २५ यात्री सवार रहेको प्रहरीको भनाई छ।  

म्याग्दी कोरला बस कम्पनिले यो बस संचालन गरेको थियो। कम्पनिका अध्यक्ष मोहन केसीका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ यो बस गण्डकी–धवलागिरी यातायात प्रालिबाट संचालित थियो।  

केसीका अनुसार २३ सिट क्षमताको यो बस काठमाडौंबाट बिहान ७ बजे २० जना यात्रु लिएर बस हिडेको थियो। जसमा बेनीका ६ जनाले टिकट काटेका थिए। अरु यात्रु पोखरा, पर्वत, बागलुङ लगायतका शहरका थिए।  

‘टिकट काटेको बाहेक अरु यात्रु भएको जानकारी छैन,’ अध्यक्ष केसीले भने, ‘बीचमा अरु यात्रु पनि थपिको भए जानकारीमा आएन।’ उनका अनुसार यो बसको खास क्षमता ३२ सिट हो। तर, यात्रुलाई आरामदायी यात्रा गराउने भन्दै कम्पनिले सिट संख्या २३ मा सिमित राखेको उनले बताए।  

प्रतिक्रिया