रामेछाप। उन्नत जातको बिउका साथै व्यवसायिक खेती विस्तार भएपछि रामेछापमा यस वर्ष आलुको उत्पादन वृद्धि भएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार यस वर्ष गतवर्षको तुलनामा आलुको निर्यात पनि बढेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका परियोजना प्रमुख थिरलाल गैरेका अनुसार यस वर्ष रामेछाप जिल्लामा करिब १८ हजार मेट्रिक टन आलु उत्पादन भएको छ।
जिल्लाको ७ सय ५० हेक्टर बढी जमिनमा व्यवसायिक रूपमा आलु खेती हुने गरेको छ।
रामेछाप जिल्लामा उत्पादन भएको ४० प्रतिशत आलु जिल्ला बाहिर निर्यात भएको छ। निर्यात गरिएको आलु भारतीय बजारसम्म पुगेको छ। देश भित्र काठमाडौँ उपत्यका तथा तराईका बजारका रामेछापको आलु पुगेको छ।
चिसो लेकाली क्षेत्रमा उत्पादन भएको रामेछापको आलु स्वादिलो र पौष्टिक भएकोले पनि बजारमा यहाँको आलुको उच्च माग छ। किसानले बारीबाट नै ३५ देखि ४० रुपैयाँ किलोका दरले आलु बिक्री गर्ने गरेका छन्। यो हिसाबले रामेछाप जिल्लामा ६० करोड रुपैयाँ बराबरको आलु उत्पादन भएकोमा जिल्ला बाहिर २७ करोड रुपैयाँ बढीको आलु निर्यात भएको छ। गत साल २० करोड रुपैयाँको आलु जिल्लाबाट बाहिर गएको अनुमान छ।
रामेछाप जिल्लामा आलु बिउ उत्पादन तथा भण्डारण स्रोत केन्द्रहरू स्थापना भएपछि उन्नत जातको बिउको प्रयोगका कारण आलुको उत्पादन बढेको छ। आलु जोन कार्यक्रम अन्तर्गत रामेछापमा गुणस्तरीय आलुको बिउ उत्पादन तथा भण्डारको लागि ६ वटा बिउ श्रोत केन्द्र स्थापना भएका छन्।
त्यस्तै २ वटा बिउ उत्पादन क्षेत्र रहेका छन्। जिल्लामा हरेका वर्ष ५ सय मेट्रिक टन आलुको बिउ उत्पादन हुने गर्दछ। रामेछापमा उत्पादन भएको बिउ अन्य जिल्लामा समेत निर्यात हुन लागेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकालाई आलु उत्पादनको जोन क्षेत्र घोषणा गरिएको छ। उमाकुण्ड गाउँपालिकाका सबै सातैवटा वडा र गोकुलगंगाका सबै ६ वटै वडामा यो कार्यक्रम सञ्चालनमा छ।
यसको साथै दोरम्बा शैलुङ गाउँपालिकाको दोरम्बा, डडुवा र गौश्वारामा पनि ठूलो परिमाणमा व्यवसायिक रूपमा आलु खेती हुने गरेको छ। शैलुङमा उन्नत जातको आलु बिउ उत्पादन गरी किसानलाई वितरण गरिएको छ। रोजिटा जातको रोग प्रतिरोधी क्षमताको आलु सो क्षेत्रका किसानले लगाएपछि उत्पादनमा वृद्धि भएको स्थानीय किसान दावासङ्बु शेर्पा बताउँछन्। शैलुङका एउटै किसानले लाखौँ रुपैयाँको आलु बिक्री गर्ने उनले बताए। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया