महाधिवेशनको तयारी कस्तो हुँदैछ ? देउवाले लिए नेताहरुसँग ब्रिफिङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशन तयारि सम्बन्धि उपसमितिका संयोजकहरुसँग ब्रिफिङ लिएका छन् ।

सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका उपसमिति संयोजकहरुले अहिलेसम्म भएका तयारी तथा प्रगतिबारे सभापति देउवालाई जानकारी गराएका हुन् ।

आजको बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति, प्रचार प्रसार उपसमिति, आवास उपसमिति, स्वास्थ्य उपसमिति खाद्यान्न उपसमिति, विदेशी अतिथि उपसमिति लगायतका उपसमितिहरुले आफ्नो तयारी सम्बन्धि प्रगति सुनाएका थिए ।

बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवशेनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस हुने जानकारी दिए ।

महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिए । प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने, २९३ वटा मतदान बुथ र एक हजार वटा मतपत्र खसाल्ने बाकस हुने जानकारी दिए ।

आगामी २४ गते दिउँसो १ बजे उद्घाटन हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नेतृत्व सहित केन्द्रीय पदाधिकारी चयन गर्ने छ ।
 

प्रतिक्रिया