काठमाडौँ। तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुन आज टक्सार महाशाखामा गालिएको छ।
महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालिएको हो। सुनको परिमाण आजै एकिन गरिने उनले बताए।
यसअघि सोमबार ब्रेक शुबाट सुन छुट्याउने काम गरिएको थिय । यसरी छुट्याइएको सुनको तौल ६० किलो सात सय ८९ ग्राम थियो। गालेपछि सुनको मात्रा घट्नसक्ने अनुमान गरिएको छ। सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने प्रमुख आचार्यले बताए। त्यसका लागि केही दिन लाग्नेछ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो। अहिले सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ। (रासस)
प्रतिक्रिया