कर्णाली। कर्णालीका बिभिन्न जिल्ला सहित देशका दुर्गम जिल्लाहरुमा अहिले हवाइ उडान ठप्प छ। नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्ने निर्णय लिएपछि दुर्गमका उडान प्रभावित हुँदा सर्वसाधारण मारमा परेका छन्।
प्राधिकरणको निर्णयले नागरिकलाई आवतजावत गर्न सास्ती तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको छ। विमान कुर्दा हुम्लामा हाल सम्म २ जना बिरामीको ज्यान समेत गइसकेको छ।
प्राधिकरणको'अपरेशन आवर' निर्णयका कारण ठप्प बनेको हवाई उडानको अवस्थाप्रति कर्णालीका सरोकारवाला निकायले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जानकारी गराएका छन्। उनीहरुले अपरेशन आवरको निर्णय खारेज गरि स्थिति सहज बनाउन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन्। कर्णाली पर्यटन उद्यमी समाजको संयोजकत्वमा निर्णय खारेजीका लागि कर्णालीका नागरिक, सरोकारवाला र पर्यटन व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका हुन।
"नागरिकमाथि अन्याय भयो, आवतजावत ठप्प छ, ढुवानी भएका छैन र बिरामीले बिमान कुर्दै ज्यान समेत गुमाइसकेका छन्।" समाजका अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले भने "निर्णय खारेजीका लागि प्रधानमन्त्री ज्युको ध्यानकर्षण गराएका छौ, उहाँले तल्लो तहसंग छलफल गर्ने बताउनुभएको छ।" समाजले अपरेशन आवरको निर्णय कार्यान्वयन भएसंगै संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएको थियो भने कर्णालीका जनप्रतिनिधिसंग छलफल गरि निर्णय फिर्ता लिन सरकारसंग पहल गर्न आग्रह गरेको थियो।
प्राधिरणको यो निर्णयले कर्णालीको नागरिकको गुनासो पनि बढेको छ। कर्णालीका नागरिकले जहाजलाई अनुकुल समयमा उडान गर्न अनुरोध गर्दै सांकेतिक विरोधका लागी प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारलाई म्यासेज गरिरहेका छन्। सोमबार मुगुमा भएको सडक दुर्घटनाका बिरामीलाई समेत अस्पताल ल्याउन कठिन भएको छ। "सरकारले हामी माथि सौतेनी व्यवहार गरेको छ।" मुगुका स्थानीय जसबहादुर बुढा थप्छन"कर्णाली राजमार्गमा यात्रा गर्न हप्तौ लाग्छ। निर्णय फिर्ता लिइ नागरिकको जीवन सहज बनाउन र ज्यान बचाउन सरकार लाग्नुपर्छ।" (नेपाल न्यूज बैंक)
प्रतिक्रिया