‘म भाग्ने मान्छे होइन, राजासँग त डराईनँ’

काठमाडौं। पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफूले कुनै गल्ति नगरेको दाबी गरेका छन्। 

सर्बोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्व प्रधानमन्त्री नेपाल र बाबुराम भट्टराईलाई पनि सोधपुछ गर्न बाटो खुला गरिदिएको भोलिपल्ट बिहानै विदेश भ्रमणमा निस्केका नेपाल आज बिहान फर्केका हुन्। 

एकसाताको युरोप भ्रमणपछि स्वदेश फर्किएका नेपालले विमानस्थलमा संवाददाताहरुसँग ललिता निवास जग्गा प्रकरणमा आफूले कुनै बदमासि नगरेको दाबी दोहोर्याए। उनले भने ‘नबिराउनु नडराउनु मैले केही पनि विराएको छैन। कुनै बदमासि गरेको छैन। कुनै अपराध गरेको छैन्, कुनै भ्रष्टाचार गरेको छैन। कुनै पनि लेनदेन गरेको छैन।’

अहिले भैरहेको विवादबाट आफू नआत्तिएको तर आफूलाई भाग्यो भनेर आक्षेप लगाइएकोमा भने चित्त दुःखेको सुनाए।  उनले अहिले देश अन्यौलको अवस्थामा रहेको भन्दै ललिता जग्गा प्रकरणको छानबिनमा सहयोग गर्न तयार रहेको बताए। 

‘के गरौंला भनेको के पो भयो भने जस्तो देशको स्थिति छ। बालुवाटार प्रकरणमा त्यो काम कुन प्रधानमन्त्रीको कार्यकालमा भएको हो भनेर भन्ने कुरामा संभवत मेरो नाम अरु भन्दा अग्रपंक्तिमा पर्दछ। त्यस्तो केही बदमासि केही भएको छ भने त्यसको छानबिन होस्, त्यसमा मेरो तर्फबाट के सहयोग गर्नु पर्ने हो मेरो सहयोगी भुमिका रहनेछ’ उनले भने। 

‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो। म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो। माधव नेपाल भाग्यो भनेर लेखे। माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपर्थ्यो। राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन। कुनै गल्ती अपराध बदामासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ।’ 

उनले नेपाली राजनीतिमा निकै नै जटिला देखिएको भन्दै संसद अवरोध गर्न नहुने बताएका छन्। 

जारी संसद अवरोधले जनतामा धेरै नकारात्मक सन्देश गएको भन्दै उनले त्यसलाई ध्यानमा राखेर सरकारले काम गर्नु पर्ने उनको भनाई छ। 
 

प्रतिक्रिया