बंगलादेशी बन्धक बनाएर लाखौँ फिरौती लिएको आरोपमा दुई नेपालीसहित ७ पक्राउ

काठमाडौं। मलेसिया, पोल्यान्ड र क्रोएसियासहितका देशमा पठाउन भन्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई नेपालीसहित सातजना पक्राउ गरेको छ। 

नेपाल प्रहरीको उपत्यका अनुसन्धान कार्यालय काठमाडौंले पत्रकार सम्मेलनमार्फत ५ जना बंगलादेशी र २ जना नेपालीसहित ७ जनालाई सार्वजनिक गरेको छ। 

२ जना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा थप ६ जना सहित ८ जना को सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–७ घर भई काठमाडौंको नक्साल भगवतीबहाल बस्ने ३३ वर्षीया रोशीन राई, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भई ललितपुरको हरिसिद्धि बस्ने २७ वर्षीया तारा नेपाली पक्राउ परेका छन्। 

त्यस्तै बंगलादेशको ढाका मोभसिङ जिल्ला घर भई हाल काठमाडौंको कपुरधारा बस्ने ३४ वर्षीय जहाङ्गिर आलम, बंगलादेशको ढाका सिलेट जिल्ला जनतापुर घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, बंगलादेशको गाजीपुर जिल्ला घर भई अहिले काठमाडौंको कालिमाटीडोल बस्ने ४७ वर्षीय अमिर हुसेनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

त्यस्तैगरी बंगलादेशको बरिसाल घर भई हाल ललितुरको हरिसिद्धि बस्ने ३७ वर्षीय मोहम्मद मोसिह्युर रहमानलाई पनि प्रहरीले पक्राउ गरेको छ।

राम्रो काम पाइन्छ, धेरै पैसा कमाई हुन्छ भनेर प्रलोभनमा पार्दै गत असार २८ गते बंगलादेशी नागरिक राजोन, फर्हाद हुसेनलाई असार २८ गते ल्याएर बन्धक बनाएको खुलेको छ।

पक्राउ परेकाहरुले दुवैजनालाई नयाँ बसपार्कस्थित शुभलक्ष्मी दैलेखी गेस्ट हाउसमा लगेर १० लाख बंगलादेशी टाका लिएर पोल्यान्ड पठाइदिने आश्वासन दिएको पाइएको प्रहरीले जनाएको छ। 

उनीहरुले उक्त रकम दिन नमानेपछि यो गिरोहले ह्वाट्स एपमार्फत बंगलादेशस्थित उनीहरुका परिवारलाई फोन गरेर तत्काल पठाउने भए १० लाख टाका पठाउनु, होइन भने जे पनि गर्छौँ भनेर धम्की दिएको प्रहरीको भनाई छ। 

परिवारले समेत रकम नपठाएपछि ती बंगलादेशीहरुलाई कुपटि गरेको, हप्काएको र यातना दिएको भिडिओ पठाएर धम्की दिएको महानगरी प्रहरी अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

परिवारले १० लाख टाँका पठाइसकेपछि फेरि यो गिरोहले ती दुई बंगलादेशीको परिवारसँग २० लाख टाँकाका लागि बार्गेनिङ गरेका थिए। 

उनीहरुले आफन्तलाई मारिदिने भन्दै धम्की दिएपछि अर्का बंगलादेशी नागरिक अबु बक सिद्धिकीले काठमाडौंस्थित पर्यटक प्रहरी हुँदै अपराध अनुसन्धान कार्यालयमा उजुरी दर्ता गराएका थिए।

उनीहरुले विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरुमा बंगलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको खुलेको प्रहरीले जनाएको छ। 

यो गिरोहले बंगलादेशबाट त्यसरी आएका मानिसहरुलाई विदेशको  प्रक्रियाका लागि केही समय लाग्छ भनी ८–१० दिनमा होटल फेरेर राख्ने गरेका प्रहरीले जनाएको छ।

त्यसपछि उनीहरुले पीडितहरुलाई सेफ हाउसमा लगेर मोबाइल, पासपोर्ट, साथमा भएको पैसा लगायत कुरा नियन्त्रणमा लिई कुटपिट गरी यातना दिएको भिडिओ बनाउने गरेका थिए।

यी आरोपीहरुले भारतको आधारकार्ड तथा नेपालको नागरिकता समेत लिने गरेको पाइएको छ।

नेपाली महिलाहरुसँग लिभिङ टुगेदरमा बस्ने बस्ने तथा विवाह गरेको भनी ती महिलाहरुको नाममा बैंकमा खाता खोली पैसाको कारोबार गर्ने, जग्गा जमिन तथा सम्पत्ति खरिद गर्ने र कभरका रुपमा विभिन्न पेशा तथा व्यापार व्यवसाय सञ्चालन गर्ने गरेको खुलेको छ। 
 

प्रतिक्रिया