संसद अवरोध कायमै

राष्ट्रपतिको चासो अर्थहीन, सांसद शर्माको गिरफ्तारीले कांग्रेसभित्र तनाव

 काठमाडौं। संसदका दुवै सदन आज पनि सञ्चालन हुन सकेनन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका पूर्व निर्धारित वैठक नियमित कार्यसूचिमा प्रवेश नै नगरी साउन २९ र ३१ मा बस्नेगरी स्थगित भएका हुन्।

सय केजी सुन प्रकरणको अनुसन्धान उच्चस्तरीय समिति बनाएर उसको अधिनमा गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद अवरुध्द गर्दै आएको छ। आज पनि त्यही माग पूरा गर्न माग गर्दै उसले दुवै सदनमा केहीबेर नारावाजी गर्दै वेल घेरेपछि सभामुख देवराज घिमिरे र अध्यक्ष गणेश तिमिल्सिनाले कार्यसूचिमा रहेका सबै बिषय हटाएर वैठक स्थगित गरेका हुन्।

आजै विहान राष्ट्रपति रामचन्द्र पौडेलले सदनका प्रमुखहरुलाई शीतल निवास बोलाएर संसदको अवरोध खोलेर नियमित सुचारु गर्ने बारेमा छलफल गरेका थिए। 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल सहित सत्तारुद दल र प्रतिपक्षका शीर्ष नेता बसेर संसदको अवरोध खोल्ने बारेमा पटक पटक छलफल गरिसकेका छन्। तर एमालेले उच्चस्तरीय समितिमै अडान राखेर संसदको कार्बाही नियमित गर्न अवरोध गरिरहेको छ।

बिहीबार नेपाली कांग्रेसका सांसद सुनिल शर्मा गिरफ्तार भएपछि सत्तारुढ दलहरुवीच पनि खटपट सुरु भएको छ। यसको असर संसदको वैठकमा पनि देखिएको छ। सुन प्रकरणको अनुसन्धानमा सहयोग गर्न गृह र अर्थमन्त्रीले पदबाट हट्नुपर्छ भनेर प्रतिनिधिसभा वैठकमा माग गरेका सांसद शर्माको गिरफ्तारीपछि नेपाली कांग्रेसभित्रको एउटा पक्ष निकै असतुष्ट देखिएको छ।

प्रधानमन्त्री दाहाल र सभापति शेरबहादुर देउवाकै निर्देशनमा सांसद शर्मालाई गिरफ्तार गरेर अन्य अभियोगतर्फ बिषय मोडेर विरोधीहरुलाई तर्साउन खोजिएको भनेर विरोध गरिएको छ।

संसदमा सांसद शर्माको गिरफ्तारीप्रति पनि सांसदहरुले चासो राखेर चर्चा गरेका थिए।

प्रतिक्रिया