भारतीय गाडी निषेधको माग राख्दै ट्याक्सी चालक आन्दोलित

काठमाडौं। भारतीय गाडीलाई निषेध गर्नुपर्ने माग राख्दै ट्याक्सी सहितका यातायात चालकहरू आन्दोलनमा उत्रिएका छन्। 

बिहीबार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि ५० भन्दा बढी ट्याक्सी एकैठाउँ रोकेर उनीहरुले विरोध गरेका छन्।

विरोध सभामा बोल्दै नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज काठमाडौंका महासचिव दिलिप कुमार श्रेष्ठले भारतीय गाडीको प्रवेशले नेपाली व्यवसायीहरु मारमा परेको बताएका छन्। 

‘भारतीय  गाडीहरु विभिन्न प्रवाहबाट नाका प्रवेश गर्ने अनि  केही दिनको परमिट लिएर आउने र नेपालमै बसेर काम गर्ने व्यवसाय गर्ने यसले गर्दा नेपालको व्यवसायहरु पलायन हुने अवस्था आयो ।’

भाडाको काम गर्ने नीजि प्रयोग गर्ने गाडी बन्द गर्नुपर्ने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने, उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुव्र्यवहार गर्ने काम बन्द गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको नेपाली संवत् जिपियस नम्बर कायम गर्नुपर्ने उनीहरूको माग छ।

यस्तै, दुर्घटनामा परी मृत्यु भएमा २५ लाख राहत दिनुपर्ने, ट्याक्सी मिटर सिल चुँडिदा गाडी साहु र चालक जेल जानु पर्ने कानून खारेज गर्नुपर्ने चालकहरुको भनाई छ। (-नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया