सत्यमोहनका तस्विराङ्कित पर्चा र पुस्तक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राखिने

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा सत्यमोहन जोशीका बारेमा तयार पारिएका तस्विर, पुस्तक तथा पर्चा र चित्र आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पहल गरिने बताएकी छन् ।   

 दुई वर्षअघि माघ १५ गते कोरिएका ४०० मध्ये छानिएका ४० चित्रको सङ्ग्रह क्यानभासमा ‘सत्यमोहन बा’ चित्रकला प्रदर्शनी कार्यक्रमको सोमबार उद्घाटन गर्दै उनले नेपाली कला अनि वाङ्मयको क्षेत्रमा जोशीले पुर्याएको योगदानको कदर गर्दै अघि बढ्ने बताएकी हुन् ।

उनले भनिन्, “मुलुकका साथै विशेष गरी ललितपुरले जोशी जस्ता विशिष्ट व्यक्ति पाउनु अत्यन्तै गर्भको विषय रहेको छ ।” उनले एउटै चित्रले जोशीका जीवनका बारेमा उनकौँ कुरा बोल्न सक्ने भएकाले सो चित्र कोर्ने कलाकारको राष्ट्रले उच्च सम्मान गर्ने विश्वास लिएको बताइन् । सत्यमोहन लोक साहित्य भवनलाई आफ्नो व्यक्तिगततर्फबाट  ५० हजार सहयोग गर्ने जनाउँदै मन्त्री भुसालले पर्यटन मन्त्रालयलाई समेत सो काममा ध्यान दिन आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

पिकासोका निर्देशक एवं कलाकार अजय देशारले आफूहरुले जोशीको चित्र तेल अनि पानी तथा सिसाकल र एक्रिलिकको प्रयोग गरेर कोराएको बताए । उनले भने, “चित्रकलामा भाग लिएका ११ देखि ७० वर्ष सम्मका चित्रकारको कलालाई सरकारले उच्च मूल्याङ्कन गर्नुपर्छ भन्ने हामी चाहन्छौं ।”  

जोशीका चित्र बिक्री गरेर सङ्कलन भएको कूल रकममा ३५ प्रतिशत कलाकार अनि २० प्रतिशत लोक साहित्य भवन तथा १५ प्रतिशत पिकासोका साथै बाँकी रहेको ३० प्रतिशत गाउँगाउँमा गएर कलाको विकासका लागि खर्च गरिने देशारले जानकारी दिए । 

प्रतिक्रिया