ओलीले गरिबी हटाउने योजनाको डीपीआर बनाउन नदिएको खुलासा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव घनश्याम भुषालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको अवरोधको कारण मुलुकमा राजनीतिक अस्थिरता कायम भएको आरोप लगाएका छन्। 

समाजवादी इञ्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भुषालले मुलुकबाट गरिबी हटाउने आफुहरुको लक्ष्य र योजनाको डीपीआर बनाउन खोज्दा ओलीले नै अवरोध गरेर नदिएको खुलासा गरे।  

भुषालले भने, ‘राष्ट्रिय पुँजीको विकास गर्नु समाजवादको तयारी गर्ने हो। यसमा काम गर्नुपर्छ भन्ने हाम्रो विचार थियो तर ओलीले त्यो तर्फ जाने कुरा अघि बढ्नै नदिएर त्यता नजाने भन्नु भयो, अबको १० वर्षमा गरिबी हटाउने र रोजगारी बढाउने हाम्रो लक्ष्यलाई ओलीले आफ्नो निजी स्वार्थले रोक्दा कम्युनिष्ट पार्टी र राजनीतिलाई समेत क्षति पार्नु भयो। आज राजनीतिक अस्थिरता किन छ भने हामीले भने अनुसार योजनाको डीपीआर बनाउन र लागू गर्ने बाटोलाई ओलीले रोकेकोले भएको हो।’ 

समाज परिवर्तन गर्ने हो भने युवाहरुलाई अगाडि बढाउनु पर्ने बताउँदै अग्रगामी चेतना भएको व्यक्ति ४ जना भएपनि अगाडि बढ्न बढि संख्या नचाहिने पनि भुषालको तर्क छ।  

उनले भने, ‘एउटा राम्रो अभियान सुरु गर्न सक्यौं भने ५ वर्षमा हामी कृषिको क्रान्ति भनेका कुराहरु सम्पन्न गर्छौ। त्यसले उद्योगका लागि राम्रो आधार पनि तयार पार्छ। यसले हामीलाई सक्षम बनाउँन सक्छ। राम्रो तरिकाले लाग्ने हो भने १० वर्षमा देश बनाउँन सक्छौ र तर जब ओलीले संसद विघटन गरेपछि हामी स्थिर भएर लाग्न सक्या छैनौ।’ 

७ महिनाभित्रमा समाजवादी पार्टीलाई आफुहरुको एजेण्डा वरिपरि ल्याउन सम्भव हुने उल्लेख गर्दै उनले माओवादको परिभाषाले आजको नेपाली समाज नबन्ने बताए। 

मन्त्री प्रकाश ज्वालाले भने, ‘आजको राज्य, समाज दोहन गर्ने राज्यहरुलाई वरिपरि राखेर आफ्नो सत्ता बचाईरहेका छन्। ओलीको त्यो सत्ताले एमाले ओरालो लाग्यो र लागि रहेको छ। त्यो अब कहिले उठ्दैन्, अगाडि जादैन, कांग्रेस पनि केही नयाँ आएर उठाउछन् भनेको थियो तर बनाउँदैनन्। निजी क्षेत्रलाई स्वतन्त्र गरेर मुलुकको विकास हुने कांग्रेसको सिद्धान्त उदारवाद त्यो काम लागेन् र लाग्दैन। यसकारण पनि हाम्रो लागि स्थान छ हामी आफ्नो योजनामा स्पष्ट हुनुपर्छ र प्रतिवद्ध हुनुपर्छ हामीलाई चाहिएको यहि हो।’ 

उनले २ वर्षमा नयाँ बाम विकल्प तयार पार्ने र यो मुलुकको आवश्यकतालाई सम्बोधन गर्ने पनि बताए।
 

प्रतिक्रिया