शक्तिपीठ त्रिपुरासुन्दरीमा तोडफोड, धार्मिक द्वन्द हुने चिन्ता!

जाजरकोट। प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीलाई लक्षित गरी केही समय देखि त्यहाँ क्षति पुर्याउने श्रृंखला चलिरहेको छ। कहिले मन्दिरमै आक्रमण गर्ने र कहिले मन्दिर परिसरमा तोडफोड गर्ने गतिविधि भैरहेको मन्दिर अक्षयकोषका अध्यक्षले बताएका छन्।

यसपटक मन्दिरको सिँढी तोडफोड गरिएको छ। कुनै अज्ञात समूह भनिने गरेको समूहले यो मन्दिरलाई लक्षित गरी क्षति पुर्याईरहेको स्थानीयको बुझाई छ। हालै मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्येका सोह्रवटा सिँढी तोफफोड भएको मन्दिर अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए।

त्रिपुरासुन्दरीलाई हिन्दूहरुको पवित्र शक्तिपीठ मानिन्छ। साथै मन्दिर जन्माउने मन्दिरका रुपमा परिचित छ यो तीर्थस्थल। यसमा कसले किन यसरी शृङ्खलाबद्ध रुपमा तोडफोड गरिरहेको छ भन्ने कुरा आजसम्म पत्ता लाग्न सकेको छैन। स्थानीय प्रशासन र सुरक्षा निकायले समेत यसको खोजविन गर्न त्यति सारो चासो नराखेको स्थानीयको बुझाई छ।

मन्दिर व्यवस्थापन समितिले विभिन्न सरकारी निकायबाट सहयोग जुटाएर बनाएको सोह्रवटा सिँढीका ढुङ्गाहरु हथौडा प्रयोग गरेर तोडफोड भएको देखिएको छ। यस्तो किसिमको गलत काम कुनै धर्म विरोधी तत्वको हुनसक्ने भएकाले पत्ता लगाउन कानुनी रुपमा अघि बढ्नाका साथै स्वयं जगत् जननी मातासँग पनि भाकल गरिएको समेत अध्यक्ष उपाध्यायले बताए।

कुनै पहिचान खुल्न नसकेको समूह मन्दिरमा क्षति पुर्याउन व्यवस्थित तरिकाले क्रियाशील भएको आशंका गरिएको छ। मानिसहरुको आवतजावत नहुने समयमा यस्तो तोडफोड भैरहेकाले धार्मिक द्वन्द चर्काउने उदेश्य बोकेको कुनै शक्तिले मन्दिरमाथि आक्रमण गराउन जानकार व्यक्तिहरुलाई प्रयोग गरेको हुनसक्ने स्थानीय पाका मानिसहरु आशंका गरिरहेका छन्। यस्तो कार्य तत्काल रोक्न गम्भीर किसिमले अनुसन्धान हुनुपर्ने भन्दै समस्या चर्किएपछि नियन्त्रण गर्न नै कठिनाई पनि हुनसक्ने उनीहरुको चिन्ता छ।

राससको समाचारमा आधारित सूचना अनुसार, तर यतिञ्जेलसम्म कसले कुन कारणले सिँडी फुटायो भनेर अझै पत्ता लागेको छैन। यसअघि पनि अज्ञात समूहले मन्दिरका सिँढी तोडफोड गरेपछि सार्वजनिक जानकारीका लागि विज्ञप्ति नै निकालिएको थियो।

हिन्दु धर्मावलम्वीहरुवीच प्रख्यात त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि देशविदेशबाट हज्जारौं भक्तजनहरु पुग्ने गर्दछन्।

प्रतिक्रिया