सुन तस्करीको मुख्य दोषी समाएर सार्वजनिक गर्न एमालेको माग

काठमाडौं। संसदको प्रमुख विपक्षी दल नेकपा एमालेले सुन तस्करीमा संलग्न मुख्य मान्छे पक्राउ गर्न सरकारसँग माग गरेको छ।

संसद् भवनमा बुधबार बसेको संसदीय दलको बैठकले सुन तस्करी प्रकरणमा छानबिन गरेर असली दोषी पत्ता लगाउनुपर्ने निर्णय गरेको एमालेले जनाएको छ।

भरियालाई मात्रै होइन, मुख्य मान्छेलाई पक्राउ गरेर दोषीलाई कारबाही गर्नुपर्छ, दोषीलाई जनता समक्ष सार्वजनिक गर्नुपर्दछ भनेर एमालेले निर्णय गरेको छ। 

सरकारको जवाफ आएपछि गृहमन्त्रीको राजीनामा माग्ने कि विरोधमात्रै गर्ने भन्ने निश्चित हुने बताईएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न गरेका थिए। यति ठूलो मात्रामा सुन सानोतिनो संलग्नतामा तस्करी हुन नसक्ने उनको जिकिर थियो। 

सय किलो सुन बाहिरिन लाग्दा बरामद भएपछि केही व्यक्ति नियन्त्रणमा लिईएका छन् भने यसमा संलग्न अरुको खोजी जारी रहेको राजश्व अनुसन्धान विभागले जनाएको छ।
 

प्रतिक्रिया